>
कटहरी गाउँपालिका वडा नं. १ को कार्यालय परिसरमा नव निर्मित भवनमा आदर्श कटहरी सामुदायिक सिकाइ केन्द्रको उद्घाटन भव्य रूपमा सम्पन्न भयो। गाउँपालिका अध्यक्ष देवराज चौधरीले केन्द्रको उद्घाटन गर्दै दमदार रूपमा आफ्नो धारणा राख्नुभयो।>
उहाँले भन्नुभयो, “यो सिकाइ केन्द्रले केवल शिक्षा प्रदान गर्ने काम मात्र गर्दैन, यो समुदायको वास्तविक शक्ति र परिवर्तनको माध्यम बन्नेछ। यसले बालविवाह, हिंसा र अन्य कुरीतिहरूको अन्त्य गर्न सक्ने सामर्थ्य राख्छ। शिक्षित नागरिक भनेको आत्मनिर्भर र सचेत नागरिक हो। यो केन्द्रबाट सिकेर हाम्रा नागरिकहरू आफ्नो जीवनस्तर उठाउन सक्षम हुनेछन्।”>
उहाँले थप गर्नुभयो, “हामी केवल शिक्षामा सीमित छैनौं, यो केन्द्रले सीप विकास र आर्थिक सशक्तीकरणमा पनि काम गर्नेछ। समुदायका हरेक व्यक्ति सशक्त भएपछि मात्र समृद्ध गाउँको परिकल्पना साकार हुनेछ।”>
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतम, वडा नं. १ का वडा अध्यक्ष हरी राजवंशी, र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।>
शिक्षा शाखा प्रमुख द्रोन प्रसाद पोखरेलले जानकारी दिनुहुँदै, यो केन्द्र २०६६ सालमा जिल्ला शिक्षा कार्यालय अन्तर्गत दर्ता भएको र समुदायको हितका लागि काम गर्दै आएको उल्लेख गर्नुभयो।>
अध्यक्ष चौधरीको प्रेरणादायी भनाइले उपस्थित सबैलाई उत्साहित बनाएको थियो। यस केन्द्रले समुदायमा शिक्षाको प्रसार, सीप विकास, र सामाजिक चेतनाको अभिवृद्धिमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।>>