महानगरको अवैध संरचना हटाउने अभियानमा व्यापारीको साथ

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
२३ मंगशिर २०७९

विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् । 

पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरूले नियमविपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो ।

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयभित्र पनि अवैध संरचना नहटाएपछि महानगरले आफैं हटाउन सुरु गरेको थियो । तर बिहीबारदेखि भने मेनरोडका व्यापारीहरूले आफ्नो पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचना धमाधम हटाउन थालेका छन् ।

विराटनगरलाई यथास्थितिमा राख्न नसक्ने भन्ने मेयर नागेश कोइरालाको अभिव्यक्तिबाट आफूहरू उत्साहित भएको व्यापारी सन्तोष साहले प्रतिक्रिया दिए । “विराटनगर बनाउने अभियानमा हामी बाधक बन्दैनौं,” उनले भने, “महानगरले पनि सडकको पेटीहरूलाई व्यवस्थित बनाइदिनुपर्छ । विराटनगरको विकासका लागि हामी सबै व्यापारी महानगरसितै छौं । 


प्रतिक्रिया

सम्बन्धित समाचार