"व्यापार मात्र होइन, स्थानीय खेलाडीको प्रवर्द्धन गरियोस्" : वसिम आलम

सोनु कुमार दास 24+ समाचार ( )
५ मंगशिर २०८१

विराटनगरमा तामझामका साथ नेपाल प्रिमियर लिग एनपिएल को टिम विराटनगर किंग्स ले आफ्नो जर्सी र गीत सार्वजनिक गर्दा चर्को आलोचना सुरु भएको छ ।  कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री , मेयर, पूर्व मेयर तथा अन्य नेताहरूको उपस्थिति थियो। तर, कार्यक्रमको भव्यताभन्दा पनि विराटनगर किंग्स द्वारा प्रदेशका खेलाडीलाई महत्व नदिएको विषयले चर्चा पाएको छ । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिम आलमले कार्यक्रमको क्रममा प्रदेश सरकार र टिम व्यवस्थापनको चर्को आलोचना गर्दै भने, सरकारले खेलाडी उत्पादनमा कति लगानी गरेको छ भन्ने सोच्नुपर्छ। विराटनगर किंग्सले प्रदेशको प्रतिनिधित्व गरे पनि यहाँका खेलाडीलाई टिममा समावेश नगर्नु दुःखद छ। यु १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका दिपेश कंडेल, ललित राजवंशीजस्ता खेलाडीलाई अक्सनमा बोलिसम्म नलगाइएको बताए आलमले । उनले प्रदेशका नेताहरूलाई खेल क्षेत्रमा आफ्नो भूमिका सम्झेर लाज मान्नुपर्ने स्थिति आएको टिप्पणी पनि गरे ।

आलमले विराटनगर किंग्सका मालिकहरूलाई केवल व्यापारमा मात्र ध्यान नदिइ प्रदेशको खेलकुद विकासमा पनि योगदान दिन आग्रह गरे। केवल व्यापार मात्र नभई, आफ्नै प्रदेशको क्रिकेट खेलाडी उत्पादन र प्रवर्धनमा पहल गर्नुपर्छ, आलमले थपे , विराटनगर किंग्सको टिमले कोशी प्रदेशका खेलाडीलाई समेट्न नसक्दा सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। खेलप्रेमीहरूले प्रदेशकै प्रतिभाशाली खेलाडीलाई बेवास्ता गरिएको भन्दै टिम व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। यद्यपि, विराटनगर किंग्सका मालिकहरूले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। तर, प्रदेशका खेलाडीलाई बेवास्ता गर्नुले विराटनगर किंग्सलाई स्थानीय स्तरमा समर्थन गुम्ने खतरा औंल्याइएको छ।

आलमले फेस्बुकमा लेखेका छन् , म शुभकामना दिन सकिनँ। तर आशा छ, भविष्यमा स्थानीय खेलाडीलाई प्राथमिकतामा राखेर विराटनगर किंग्सले नयाँ उदाहरण प्रस्तुत गर्नेछ। विराटनगर किंग्सको यो रवैयाले खेलकुद क्षेत्रका सरोकारवाला र खेलप्रेमीहरूबीच गम्भीर छलफल र बहसको थालनी गरेको छ। अब टिम व्यवस्थापनले यस विषयमा कस्तो कदम चाल्ने हो, सबैको ध्यान त्यतै केन्द्रित छ। लाइभ न्यूज रफतारले निरन्तर रुपमा कोशी प्रदेशको खेलाडीलाई बिराटनगर किंग्सले समावेश गराउनुपर्छ भन्ने आवाज उठाउदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार