“बिराटनगरको नाम बेचेर व्यापार मात्रै होइन, स्थानीय खेलाडी उत्पादनमा ध्यान दिनुहोस्” – सभापति चापागाईं

सोनु कुमार दास 24+ समाचार ( )
५ मंगशिर २०८१

विराटनगर महानगरपालिकाका नेपाली कांग्रेस पार्टीका महानगर सभापति दिपक चापागाईंले विराटनगर किंग्सको टिम व्यवस्थापनको चर्को आलोचना गरेका छन्। चापागाईंले विराटनगर किंग्सले स्थानीय खेलाडी र कलाकारलाई बेवास्ता गर्नु आपत्तिजनक भएको बताएका छन्।

लाइभ न्यूजलाई चापागाईंले भने, “बिराटनगर किंग्सले जर्सी र गीत सार्वजनिक गर्दै गर्दा समग्र कोशीको प्रतिनिधित्व गर्ने भनिएको टिमले आफ्नै प्रदेशका प्रतिभावान खेलाडीहरूलाई किन उपेक्षा गर्‍यो ? यु १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका दिपेश कंडेल र ललित राजवंशी लगायतका खेलाडीलाई अक्सनमा बोलिसम्म पनि किन लगाएन? ” उनले टिम व्यवस्थापनलाई केवल व्यापारमा ध्यान केन्द्रित नगर्न चेतावनी दिँदै थपे, “बिराटनगरको नाम बेचेर व्यापार मात्र होइन, स्थानीय खेलाडी उत्पादन र प्रवर्द्धनमा पनि पहल गर्नुपर्छ।

यो प्रदेश र विराटनगरको सम्मानको विषय हो।” चापागाईंले विराटनगर किंग्सको टिम व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाउँदै भने, “प्रदेश र महानगरले खेल क्षेत्रको विकासमा पर्याप्त ध्यान दिन नसकेको र नेतृत्वले स्थानीय प्रतिभाको सम्मान गर्न नसक्नु लज्जास्पद हो। यस्तो अवस्थामा विराटनगर किंग्सले पनि प्रदेशका खेलाडीलाई बेवास्ता गर्दा यो विषयले थप गम्भीर रुप लिएको छ।” विराटनगर किंग्सले स्थानीय खेलाडीहरूलाई प्राथमिकतामा नपारेको विषयमा सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।

विराटनगरवासी र खेलप्रेमीहरूले टिम व्यवस्थापनलाई प्रदेशका खेलाडी र कलाकारको बेवास्ता गरेको भन्दै गम्भीर असन्तोष जनाएका छन्। चापागाईंले टिम मालिकहरूलाई आग्रह गर्दै भने, “बिराटनगर किंग्सले व्यापार मात्रै होइन, स्थानीय खेलाडी उत्पादन र कोशी प्रदेशको खेलकुद विकासमा समेत योगदान पुर्‍याउनु आवश्यक छ। यदि यसरी उपेक्षा गरिन्छ भने स्थानीय स्तरमा टिमको समर्थन कमजोर बन्नेछ।” विराटनगर किंग्सले समग्र कोशीको प्रतिनिधित्व गर्ने दाबी गरे पनि कोशी प्रदेशका खेलाडीलाई अक्सनमा समेट्न नसक्नुले टिम व्यवस्थापनको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ।

दिपक चापागाईंले टिम व्यवस्थापनलाई अब आउने दिनमा स्थानीय खेलाडीलाई प्राथमिकता दिन चेतावनी दिएका छन्। स्थानीय खेलाडी र कलाकारलाई बेवास्ता गर्दै व्यापारमुखी रवैया अपनाएको आरोप खेपिरहेको विराटनगर किंग्समाथि बढ्दो दबाब कायम छ। अब, टिम व्यवस्थापनले यस विषयमा सुधारका लागि कदम चाल्ने कि अझै मौन बस्ने भन्ने सबैको चासोको विषय बनेको छ। लाइभ न्यूज रफतारले यस विषयमा निरन्तर ध्यान दिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार