BIRATNAGAR KINGS को 'लागलागा' गीतमाथि चौतर्फी आलोचना, नयाँ भिडियोले ढाकछोपको प्रयास

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
५ मंगशिर २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम विराटनगर किंग्सले सार्वजनिक गरेको एन्थेम ‘लागलागा लागलागा’ बोलको गीत चौतर्फी आलोचनाको शिकार बनेको छ। कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टिमले एन्थेममार्फत् विराटनगर र कोशी प्रदेशको भावना झल्काउन असफल भएको आरोप लगाउँदै खेलप्रेमी र स्थानीय नागरिकले सामाजिक सञ्जालमा कडा असन्तोष व्यक्त गरिरहेका छन्।
कोशी प्रदेश, विराटनगरको नाम जोडिएको टिमले एन्थेममा विराटनगरको दृश्यसमेत समावेश नगरेको भन्दै विरोधपछि टिमले आफ्नो फेसबुक पेजमा ३४ सेकेन्डको नयाँ भिडियो सार्वजनिक गरेको छ। तर, उक्त भिडियोले आलोचना मत्थर गर्नुको सट्टा, थप चर्को विवाद जन्माएको छ। विरोधका बीच सार्वजनिक गरिएको भिडियोमा १३६ वटा प्रतिक्रियामध्ये अधिकांशले टिम व्यवस्थापनको कमजोरी ढाकछोप गर्न मात्र प्रयास गरेको भन्दै आलोचना गरेका छन्।
स्थानीय नेतृत्व र खेलप्रेमीको विरोध
यसअघि पनि एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिम आलम र नेपाली कांग्रेसका महानगर सभापति दिपक चापागाईंले विराटनगर किंग्सको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएका थिए। आलमले विराटनगर किंग्सले स्थानीय खेलाडीलाई अक्सनमा पनि समावेश नगरेको आरोप लगाउँदै टिमको रवैया खेलकुद विकासविरोधी रहेको बताएका थिए। उता चापागाईंले टिमले विराटनगरको नाम बेचेर व्यापार मात्र गरिरहेको र स्थानीय खेलाडी उत्पादन तथा प्रवर्द्धनमा कुनै ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए।
टिम व्यवस्थापनमाथि गम्भीर प्रश्न
‘लागलागा’ गीतमा विराटनगर र कोशी प्रदेशको भावना समेट्ने कुनै प्रयास नभएको आरोप खेपिरहेको विराटनगर किंग्सले ३४ सेकेन्डको नयाँ भिडियो सार्वजनिक गरेर आलोचनाबाट बच्न खोजेको देखिन्छ। तर, स्थानीय खेलप्रेमीहरूले यो कदमलाई टिम व्यवस्थापनको औपचारिकता र जनआवाजको उपेक्षा भएको बताएका छन्। सामाजिक सञ्जालमा भिडियोका प्रतिक्रियामध्ये धेरैले भनेका छन्, “एन्थेम गीतमा विराटनगरकै दृश्यसमेत नराख्नुले कोशी प्रदेशको सम्मानलाई खलल पुर्‍याएको छ। ३४ सेकेन्डको भिडियोले यसलाई सुधार्न सक्दैन।”
स्थानीय खेलाडी र कलाकारको उपेक्षा
यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका दिपेश कंडेल र ललित राजवंशीजस्ता खेलाडीलाई अक्सनमा समेत समावेश नगरेको टिमले स्थानीय कलाकारलाई पनि बेवास्ता गरेको छ। विराटनगर किंग्सले एन्थेममा स्थानीय कलाकार र संस्कृतिलाई प्राथमिकता दिनुपर्ने माग गर्ने खेलप्रेमीहरूले टिम व्यवस्थापनलाई स्थानीय स्तरमा आलोचना खेप्नुपर्ने स्थिति आएको बताएका छन्। विराटनगर किंग्सको व्यवस्थापनले स्थानीय खेलाडी र कलाकारको महत्व नबुझेर आलोचनाको शिकार बनिरहेको छ। टिमले अबको दिनमा स्थानीय भावना, खेलाडी, र कलाकारलाई प्राथमिकतामा राखेर यस विषयमा सुधार गर्ने कि सामाजिक सञ्जालमा चर्किएको असन्तोष थप गहिरिने भन्ने चासोका साथ धेरैको ध्यान केन्द्रित छ। लाइभ न्यूज रफ्तारले यस विषयलाई निरन्तर रिपोर्ट गर्दै जानेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार