विगत लामो समयदेखि विभिन्न कारणवश जन्मदर्ता नगरिएका बालबालिकाको शैक्षिक पठनपाठनमा अवरोध हुँदै आएको थियो। देशका विभिन्न स्थानीय तहमा आमा वा बुवाको पहिचान नखुलेको तथा अन्य कारणले जन्मदर्ता नभएका विद्यार्थीहरू पढाइबाट वञ्चित भएका अवस्थामा, धनपालथान गाउँपालिकाले “पढाइबाट कोही पनि वञ्चित नहोस्“ भन्ने नीतिसहित नयाँ निर्देशन जारी गरेको छ।>
गाउँ कार्यपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई, जन्मदर्ता नभएका बालबालिकालाई वडा अध्यक्षको जन्ममिति प्रमाणित सिफारिसको आधारमा विद्यालयमा भर्ना गराउन निर्देशन दिएको हो।>
गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदारले भने, “अहिलेको युगमा पनि विद्यार्थीहरू पढ्नबाट वञ्चित हुनु अत्यन्त दुःखद विषय हो। अन्य स्थानीय तहमा के स्थिति छ, थाहा छैन, तर धनपालथानमा जन्मदर्ता नभएको निहुँमा कसैले पनि शिक्षाबाट वञ्चित हुन नपाउने छ।“ उनले स्थानीय सरकारको निर्णय सबैले पालन गर्नुपर्ने र जन्मदर्ता नभएका बालबालिकालाई वडा अध्यक्षको सिफारिसको आधारमा अनिवार्य भर्ना गरिनुपर्ने स्पष्ट पारे।>
यसैबीच, गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडाले बताइन्, “धनपालथानमा विभिन्न कानुनी अडचनका कारण जन्मदर्ता नभएका विद्यार्थीहरू पठनपाठनबाट वञ्चित हुँदै आएको गुनासो आएपछि, यो विषय कार्यपालिकामा प्रस्ताव पेश गरिएको हो।“ उनले थपिन्, “सबै कार्यपालिका सदस्यहरूले बालबालिकाको भविष्यप्रति जिम्मेवार भएर साथ दिएका छन्, र राज्यले बालबालिकाको भविष्यसँग खेलवाड गर्न नहुने भन्दै प्रस्ताव बहुमतले पारित गरिएको हो।“>
प्रशासकीय अधिकृत खतिवडाले थप जानकारी दिँदै भनिन्, “गाउँपालिकाभित्र सञ्चालन भइरहेका सम्पूर्ण विद्यालयहरूले सञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरी स्वच्छ शैक्षिक वातावरण निर्माण गर्नुपर्नेछ। विद्यालयहरूले कक्षा सञ्चालन गर्दा अनुमति प्राप्त कक्षाहरू मात्र सञ्चालन गर्नुपर्ने र भर्ना गर्दा पनि सोही अनुरूप मात्र विद्यार्थी भर्ना गरिनुपर्ने परिपत्र जारी गरिएको छ।“>>