जनैपूर्णिमा मेलाअघि गोसाइँकुण्डमा पहिलो पटक पुग्यो बिजुली

लाइभ न्यूज रफतार 2736+ समाचार ( )
२ भाद्र २०८१

यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।

धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो । नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईका अनुसार गणेश गौडा बुद्ध मन्दिर र गोसाइँकुण्डमा दुई सय भन्दाबढी बत्ती बालिसकिएको छ । यहाँ बिजुली पुर्‍याउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका निकाय तथा स्थानीयले सहयोग गरेका उनले बताए । विद्युत् सेवा विस्तार भएसँगै तीर्थ जादाँ लेक लागेका यात्रुलाई शुक्रबारदेखि नै विद्युत्को सहायतबाट अक्सिजन दिन सुरू गरिएको गोसाइँकुण्डका   हिमालय उद्धार सङ्घले जनाएको छ । सङ्घबाट खटाएका चिकित्सक टोलीले प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताउँदै शुक्रबार साँझसम्म एक सय ५० जना यात्रीलाई अक्सिजन दिइएको सङ्घका व्यवस्थापकले जानकारी दिए ।

गोसाइँकुण्ड मेला भर्न आउने यात्रीको सुरक्षाका लागि एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन, बिरामी यात्रीको उद्धार गर्न उद्धार समूहको समेत व्यवस्था गरिएकाले निर्धक्कका साथ यात्रा गर्न सम्पुर्ण यात्रीलाई अनुरोध गरिएको बताए । भक्तजन आउने क्रम जारी रहेकाले ट्राफिक व्यवस्थापन पनि कडा परिएको उनले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार