रंगीन पर्वको शुभकामना

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
२३ फाल्गुन २०७९

रङहरुको पर्व होलीको उल्लास सुरु भएको छ । सोमबार पहाडी क्षेत्रमा मनाइएको यो रंगीन पर्व होली मंगलबार तराई क्षेत्रमा मनाइँदैछ । आपसमा रंङ र सद्भाव साटेर मनाइने होलीको आफ्नै विशिष्ट साँस्कृतिक महत्व छ । बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालमा कुनैबेला होली हिन्दू समुदाय मात्रै रमाउने चाड थियो । पछिल्लो समयमा भने धेरै जाति तथा समुदायका व्यक्तिहरु पनि रमाउने अवसर बन्दै गएको छ । जसरी छठ पर्व कुनैबेला मधेशमा मात्रै सिमित थियो, विस्तारै छठ मुलुकव्यापी बन्दै गयो । ठीक त्यसैगरी होली पनि खास समुदाय विशेषमा मात्रै सिमित रहेन । चाडपर्वहरुको सर्वस्वीकार्यता बढ्दै जानु सहिष्णु समाजको सबैभन्दा ठूलो सूचक हो । जसलाई नेपाली समाजले इतिहासको लामो कालखण्डदेखि प्रमाणित गर्दै आएको छ ।यसै पनि नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको होली प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । वसन्त ऋतुमा फागुनको महिनामा मनाइने होली रङहरूको चाड हो । होलीको आफ्नै साँस्कृतिक इतिहास पनि छ । होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन । फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होलीको साँस्कृतिक पहिचान कायम राख्दै नविन रुपले होली मनाऔं । हामी हाम्रा समस्त पाठक, लेखक तथा विज्ञापनदाताहरुमा होलीको शुभकामना व्यक्त गर्दछौं ।होली सबैका लागि उत्साह अनि सदभावको पर्वमा रुपमा पनि परिचित छ । नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् । बालक बालिकाले पिच्कारी अनि स–साना बेलुनहरुका साथमा मज्जा लिन्छन् । यो उज्यालो पाटोका अघि यसको अन्धकार पक्ष पनि छ । खासगरी होली भन्नेबित्तिकै मदिरा तथा भाङको नशामा झुम्ने पर्वका रुपमा पनि चिनिने अवस्था सिर्जना भएको छ । रमाइलोका लागि सन्तुलित रुपमा मदिरा सेवन गर्न सकिने भए पनि भाङको प्रयोग ज्यादै अनियन्त्रित हुँदै जानु चिन्ताको विषय बनेको छ । चिकित्सकहरुका अनुसार भाङको नशाले शरीरमा बहुआयामिक क्षति गरिरहेको हुन्छ । साथै हानीकारक रङहरुसमेत प्रयोग गर्न बन्देज गरिनुपर्छ ।

होलीबारे पौराणिक कथन पनि छ । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रल्हालदसँग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा होली पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि प्रल्हाद घटनाक्रमसँग सम्वन्धित छ । यी सबै घटनाक्रमको सार भनेको असत्यमाथि सत्यको विजय हो । असत्य जतिसुकै हाबी भए पनि अन्ततः सत्यका अघि उसले हार्नुपर्छ भन्ने दृष्टान्त हाम्रा चाडपर्वहरुमा निहीत सन्देशको मुख्य पक्ष हो । होलीले हामी सबैलाई असत्यविरुद्ध दृढतापूर्वक उभिने प्रेरणा पनि प्रदान गरोस् । हार्दिक शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित समाचार