भारतले भन्यो ः पहलगाम आक्रमणमा पाकिस्तानको संलगनता छ

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
१ पौष २०८२

भारतको आतंकवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित काश्मीरको पहलगाममा २६ पर्यटकको मृत्यु भएको घातक आक्रमणमा संलग्न छ जनाविरुद्ध अभियोग दर्ता गरेको छ। भारतीय अधिकारीहरूले यस आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप दोहोर्‍याएका छन्।

अभियोग लगाइएकामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने दुई जना स्थानीय हिरासतमा रहेका छन्। प्रारम्भमा ‘द रेजिस्टेन्स फ्रन्ट’ (TRF) समूहले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको थियो। अमेरिकी अधिकारीहरूले TRF लाई पाकिस्तानस्थित लश्कर–ए–तैयबा (LeT) को ‘फ्रन्ट र प्रोक्सी’ भएको बताउँदै आएका छन्।

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) ले अभियोगपत्रमा आक्रमणको योजना, सुविधा र कार्यान्वयनमा लश्कर–ए–तैयबा र TRF लाई आपराधिक संस्थाको रूपमा कानूनी कारबाहीमा ल्याएको जनाएको छ। यससँगै ‘पाकिस्तानी ह्यान्डलर’ साजिद जट्ट र अन्य तीन पाकिस्तानी आतंकवादी—फैसल जट्ट उर्फ सुलेमान शाह, हबीब ताहिर उर्फ जिब्रान, र हम्जा अफगानी—लाई पनि अभियुक्तको रूपमा समावेश गरिएको छ।

आक्रमणको केही हप्तापछि यी तीनै जनालाई भारतीय सुरक्षा बलले काश्मीरका जंगलमा मुठभेडमा मारिएको थियो। त्यस्तै, आक्रमणकारीलाई शरण दिएको आरोपमा दुई स्थानीय बासिन्दा परवेज अहमद र बशीर अहमद जोथाटलाई पनि अभियोग लगाइएको छ।

अप्रिल २२ को सामूहिक हत्याकाण्डपछि भारत र पाकिस्तानबीच कूटनीतिक र सैन्य तनाव तीव्र भएको थियो। चार दिनसम्म चलेको सैन्य झडपमा दुवैतर्फ गरी ७० जनाभन्दा बढीको ज्यान गएको थियो।

काश्मीर सन् १९४७ देखि विभाजित अवस्थामा रहेको छ र विभिन्न विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सशस्त्र विद्रोह सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार