जहदा गाउँपालिकाको शिक्षा समितिमा विशेष क्षमताका व्यक्तिलाई सदस्य पदमा मनोनयन गरिएको खबरले सकारात्मक चर्चा पाएको छ। गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले विशेष क्षमता भएका जयरामपुर, वडा नं. ३ निवासी शम्भु राजवंशीलाई शिक्षा समितिमा सदस्य पदमा मनोनयन गरेपछि यो निर्णयले सबैको ध्यान खिचेको छ।>
१३ सदस्यीय समितिमा गाउँपालिकाका प्रशासकीय अधिकृत, शिक्षण महासङ्घका अध्यक्ष लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरु छन्। यसरी शम्भु राजवंशीलाई मनोनयन गर्नुले समावेशीकरण र समान अवसरको उदाहरण प्रस्तुत गरेको छ। विशेष क्षमता भएका व्यक्तिलाई यस किसिमको जिम्मेवारी दिनु गाउँपालिकाको शिक्षा र सामुदायिक विकासप्रतिको प्रतिबद्धताको प्रतीक मानिएको छ।शम्भु राजवंशीले आफूलाई शिक्षा समितिको बैठकमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले भने, "यो मेरो लागि ठूलो अवसर हो। म गाउँपालिकाको शिक्षा क्षेत्र सुधार गर्न सकेसम्म योगदान दिनेछु।">
समाजका हरेक वर्गलाई प्रतिनिधित्व गराउने यो कदमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। स्थानीय बासिन्दाहरूले अध्यक्ष साहको यस निर्णयको प्रशंसा गरेका छन्। विशेष क्षमताका व्यक्तिहरूलाई अवसर प्रदान गर्ने र उनीहरूको योग्यता र क्षमता उजागर गर्न मद्दत गर्ने यो प्रयासले जहदा गाउँपालिकालाई समावेशी र प्रगतिशील बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।>