महेन्द्र मोरङमा शेखर कोइराला समूहले लगाएको ताला प्रहरीले फोड्यो

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
२८ फाल्गुन २०८१

नेपाल विद्यार्थी संघको डा. शेखर कोइराला समूहले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ । कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा बुधबार दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको हो ।

डा. कोइराला समूहका विद्यार्थीले लगाएको ताला केही समयपछि प्रहरीले फोडेको थियो । मंगलबार स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए । मंगलबार अबेर राति सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो । संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए ।

कोइराला समूहका विद्यार्थीले लगाएको ताला प्रहरीले फोडेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीले जानकारी दिए । उनका अनुसार आगो चाडै निभाएका क्षति भएको छैन । गत फागुन १५ गते नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति जसवन्त पौडेलसहितका समूहले क्याम्पस परिसरमा निर्घात कुटपिट गरेको थियो ।

त्यसपछि नेविसंघको संस्थापन र इतर समूहबीचको विवाद बढेको थियो । महेन्द्र मोरङको स्ववियु सभापतिमा नेविसंघबाट प्रज्वल विष्ट, अखिल क्रान्तिकारीबाट रोहित यादव, अनेरास्ववियुबाट अनिष बोगटी, योगराज दाहाल, सनिम ठकुरी र अनिष राई उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार