इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआई कार्यकर्ताको विशाल प्रदर्शन

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
१० मंगशिर २०८१

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै हजारौँको समर्थनमा प्रदर्शन भएको छ । हजारौँको सहभागितामा भइरहेको प्रदर्शन राजधानी इस्लामावादतर्फ अघि बढेको छ ।

जेलमा रहेका इमरान खानको अपिलमा आइतबारदेखि प्रदर्शन सुरु भएको हो । इमरानले यस विरोधलाई ‘फाइनल कल’ भनेका छन् । प्रदर्शनलाई रोक्न प्रहरीले इमरानका चार हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको छ । जसमा पाँच सांसद पनि छन् । यसैबीच, पाकिस्तानमा जारी विरोध प्रदर्शनले विश्वभरबाट समर्थन पाएको छ । विश्वका ६० भन्दा बढी सहरमा पीटीआईका समर्थकले इमरान खानको रिहाइको माग गरिरहेका छन् । पीटीआईले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा क्यानडा, अमेरिका, बेलायतका धेरै सहरका प्रदर्शनका तस्बिरहरू सेयर गरेको छ ।

इमरान खानविरुद्ध सयभन्दा बढी मुद्दा विचाराधीन छन् । इस्लामावादको स्थानीय अदालतले अगस्ट ५, २०२३ मा उनलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको थियो । त्यसपछि उनलाई इस्लामावादको जमान पार्कस्थित घरबाट पक्राउ गरी जेल पठाइएको थियो । पछि उनी थप दुई मुद्दामा दोषी ठहर भएका थिए । अङ्ग्रेजी पत्रिका डनका अनुसार, इमरान जेलबाट बाहिर आए भने उनले पाकिस्तानमा पुनः निर्वाचनको माग उठाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार