नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो बिहीबारको तुलनामा यो १ हजार ८ सय रुपैयाँले बढी हो । बिहीबार छापावाल सुनको भाउ तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।>
त्यसैगरी चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । हिजो बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार १ सय ६५ ले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ ।>
महासंघका अनुसार छापावाल सुनको भाउ गत बुधबार तोलाको २ लाख ६८ हजार १ सय, मंगलबार २ लाख ६७ हजार २ सय, सोमबार २ लाख ६१ हजार ७ सय र आइतबार २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो ।>>