ट्याक्सी त्रिशुलीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु : दाइ म डुब्न लागेँ भन्दै अर्जुनले गरेका थिए फोन

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
१८ चैत्र २०८०

शनिबार बिहान काठमाडौंबाट गोरखा आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भयो ।  गोरखा नगरपालिका-७ पौवाखेतका शंकर रोकाको क्यान्सरबाट मृत्यु भएपछि उनीहरु दाहसंस्कारका लागि शुक्रबार काठमाडौं गएका थिए ।

शुक्रबार राति करिव ११ बजे दाहसंस्कारको काम सकेपछि गोरखा फर्कने निधो गरे । दुई वटा ट्याक्सी र एउटा माइक्रोबस रिजर्ब गरेर उनीहरु सँगसँगै काठमाडौंबाट गोरखातर्फ लागे । एउटा ट्याक्सी अर्जुनले चलाएका थिए भने अर्को उनका जेठान प्रकाश रोकाले चलाएका थिए । अर्जुनले चलाएको ट्याक्सीमा काठमाडौंमा दाहसंस्कार गरिएका शंकरका परिवारका सदस्यहरु थिए । प्रकाशले चलाएको ट्याक्सीमा भने अर्जुनकी श्रीमतीसहितका अरु आफन्तहरु  थिए । बिहान ४ बजे पृथ्वी राजमार्गको चरौदीमा पुगेर उनीहरुले चिया खाजा खाएका थिए । ‘त्यहाँबाट म अगाडि लागेँ । बाटोमा अर्जुन ज्वाँइले फोन गरेर बाबुलाई खुवाउन स्याउ किन्नुपर्‍यो, मुग्लिनमा रोक्नुस् है भन्नुभयो’, प्रकाशले भने । उनी मुग्लिन आएर पर्खिरहे । माइक्रोबसले उनलाई उछिनेर गयो । तर अर्जुनले चलाएको ट्याक्सी अझै आइपुगेन । ‘सँगै आएको माइक्रोले उछिनेको १०–१५ मिनेट भइसक्दा पनि नआएपछि मैले ज्वाइँलाई दुई पटकसम्म फोन गरेँ तर उठेन,’ उनले भने, ‘पछि उतैबाट फोन आयो । फोन उठाउँदा एक्कासी दाई म डुब्न लागेँ मलाई बचाउनुहोस् भन्दै अत्तालिदै बोल्नुभयो ।’ त्यतिबेला बिहान ५ बजेर ६ मिनेट गएको थियो । प्रकाशले लोकसेन भन्नुस् भनेर बारम्बार कराए । तर उताबाट ‘म डुब्न लागे बचाउनुस्’ भन्ने वाक्य मात्र दोहोरिरह्यो । आवाज सानो हुँदै गयो । त्यसपछि प्रकाश ट्याक्सी लिएर मझिमटारतिर फर्किए । ‘माइक्रोले उहाँहरुलाई मझिमटारमा ओभरटेक गरेको रहेछ, त्यसैले त्यहाँबाट यता बाटोमा केही भयो भन्ने लागेर सिधै मझिमटार गयौ’, प्रकाशले भने ।

मझिमटारबाट खोज्दै उनीहरु कुरिनटार आइपुगे । नभेटिएपछि प्रहरीलाई खबर गरे । प्रहरीले विभिन्न ठाउँमा खबर गर्‍यो । फर्कदै गर्दा प्रहरीहरु उद्धारमा खटिएको देखेपछि बल्ल दुर्घटना भएको थाहा पाए । मृतकहरुको शव गोरखा अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार