विराटनगरमा हत्या भएकी नर्सका प्रेमी पनि होटेलमा झुण्डिएको अवस्थामा मृत फेला

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
५ चैत्र २०८०

विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् ।

नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी विराटनगर– ४ स्थित नोबल अस्पताल अगाडिको फाइन होटेलको कोठा नम्बर १०२ मा  झुण्डिएको अवस्थामा फेला परेका छन् । सिराहको फुल्काहकट्टी नगरपालिकाकी बासिन्दा नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा डेरामा बस्थिन् । उनको हत्या भएको अवस्थामा शव शुक्रबार दिउँसो कोठामै फेला परेको थियो ।

हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजीमा  लागेको थियो । तर, उनी आफैँ मृत भेटिएको प्रहरीले बताए । उनले प्रयोग गर्ने मोबाइलको लोकेसन नोबेल आस्पताल आसपास नै देखिएको र ट्रयाक गर्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले  जनाएको छ ।  प्रहरी होटेल फाइनमा पुग्दा ढोका बन्द भेटिएको र फोरेर हेर्दा दास झुण्डिएको अवस्थामा फेला परेको थियो ।  शिवशंकरले चन्द्रिकाले धोका दिएको भन्दै हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आइतबार दिउँसो शिवशंकरले घरमा पनि सम्पर्क गरेका थिए । फोनमा उनले फ्रस्टेसन भएको बताएका थिए । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।   उनीहरूबीच केही वर्ष अघिदेखि प्रेम सम्बन्ध थियो । दास वैदेशिक रोजगारीमा मलेसिया गइ आएका थिए ।

तर, पछि चन्द्रिकाकुमारीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध बसेको र त्यसकै आवेगमा हत्या भएको अनुसन्धानले देखाएको मोरङ प्रहरीले जनाएको छ । शिवशंकर फागुन २७ गते मेलेसियाबाट आएर २९ गते विराटनगर आएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार