विराटनगर । विराटनगरमा ‘दिव्य ज्योति आँखा अस्पताल’ लेखिएको गाडीबाट करिब ६० किलो गाँजा बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रविण घिमिरेलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ। गाँजा बरामद भएपछि प्रहरीको नियन्त्रणमा पुगेको गाडीबाट अस्पतालको नाम खुल्ने स्टिकर हटाइएको विषयमा प्रश्न उठेपछि घिमिरेसँग स्पष्टीकरण मागिएको हो।>
सशस्त्र प्रहरीको टोलीले ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको स्टिकरसहितको को १ च ६६२० नम्बरको सुजुकी भ्यानबाट दुईवटा बोरामा प्याक गरिएको करिब ६० किलो गाँजा बरामद गरेको थियो। बरामदगीका क्रममा गाडीमा अस्पतालको नाम स्पष्ट देखिने तस्वीरसमेत खिचिएको थियो।>
सशस्त्र प्रहरीले आवश्यक मुचुल्कासहित गाडी र बरामद गाँजा इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको बताइएको छ। तर, प्रहरीको नियन्त्रणमा पुगेपछि गाडीबाट अस्पतालको नाम खुल्ने स्टिकर हटाइएको अवस्थामा भेटिएपछि घटनाले गम्भीर प्रश्न जन्माएको हो।>
प्रहरीकै नियन्त्रणमा पुगेपछि प्रमाण कसरी हट्यो ?
गाँजा बरामद हुँदाको तस्वीरमा गाडीको पछाडि ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ स्पष्ट देखिन्छ। तर, पछि सार्वजनिक भएको गाडीको तस्वीरमा उक्त पहिचानजन्य स्टिकर देखिँदैन।>
यही अन्तरले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएको छ,सशस्त्र प्रहरीले बुझाउँदा रहेको प्रमाण प्रहरीकै नियन्त्रणमा पुगेपछि कसरी हट्यो ?>
लाइभ न्यूजसँग रहेको प्रमाणमा प्रहरी निरीक्षक प्रविण घिमिरेले गाडीबाट अस्पतालको नाम हटाइएको विषयलाई ‘ठूलो इस्यु नबनाउन’ भनेको सुनिन्छ। यसले घटनालाई थप पेचिलो बनाएको छ।>
प्रहरी स्रोतका अनुसार गाडीबाट अस्पतालको नाम हटाउने व्यक्तिको पहिचानसमेत भएको दाबी गरिएको छ। तर, ती व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन।>
एसपी कटवाल– ‘प्रमाण तोडमोड गर्न पाइँदैन’
घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी निरीक्षक घिमिरेसँग २४ घण्टे स्पष्टीकरण मागेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले पुष्टि गरेका छन्।>
एसपी कटवालका अनुसार प्रहरी कार्यालयभित्र अनुसन्धानका क्रममा रहेको कुनै पनि प्रमाणलाई तोडमोड वा परिवर्तन गर्न पाइँदैन। घटनाको छानबिन भइरहेको र दोषी देखिए आवश्यक कारबाही गरिने उनले बताएका छन्।>
डीआईजीको निर्देशनपछि प्रहरीमाथि छानबिन
यता, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी शेखर खनालले समेत घटनाबारे मोरङका एसपीलाई छानबिन गर्न निर्देशन दिएको बताएका छन्।>
डीआईजी खनालका अनुसार छानबिनबाट कसैको कमजोरी वा संलग्नता पुष्टि भए दोषीमाथि कारबाही गरिनेछ।>
यससँगै घटनाको अनुसन्धान अब गाँजा तस्करीमा संलग्न व्यक्तिमा मात्र सीमित नरही बरामद भएको गाडीबाट अस्पतालको नाम हटाइएको विषयसम्म पुगेको छ।>
अस्पताल अध्यक्ष भन्छन्– ‘गाडी हाम्रो होइन’
यता, दिव्य ज्योति आँखा अस्पतालका अध्यक्ष देवा यादवले उक्त गाडी अस्पतालको नभएको दाबी गरेका छन्। गाडी अस्पतालको सम्पर्कमा समेत नरहेको भन्दै आफूहरूलाई घटनामा जोडेर आरोप लगाउन चलखेल भएको उनको भनाइ छ।>
उनले घटनाको अनुसन्धानमा प्रहरीलाई आवश्यक सहयोग गर्ने बताएका छन्।>
अब छानबिनले मुख्य रूपमा गाडीको वास्तविक स्वामित्व कसको हो, अस्पतालको नाम गाडीमा कसरी प्रयोग भयो, गाँजा कसले ओसारिरहेको थियो र प्रहरीको नियन्त्रणमा पुगेपछि अस्पतालको नाम लेखिएको स्टिकर कसले हटायो ? भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेछ।>
गाँजा तस्करीको आरोपमा गाडी नियन्त्रणमा लिनेदेखि प्रहरीकै हिरासतमा पुगेपछि प्रमाण हटाइएको भनिएको घटनासम्मको यो शृंखला आफैंमा गम्भीर छ। त्यसैले अबको छानबिनले प्रहरीभित्रैबाट भएको लापरबाही हो वा जानाजानी प्रमाण प्रभावित पार्ने प्रयास, त्यसको स्पष्ट तथ्य बाहिर ल्याउनुपर्ने देखिन्छ।>
>