नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।>
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।>
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने, 'हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले समस्या भइरहेको छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।'>
उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए ।>>