गाजामा इजरायली आक्रमण जारी, १२५ प्यालेस्टाइनीको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
५ जेठ २०८२

इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो आक्रमणमा परी कम्तिमा १२५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार ‘सुरक्षित क्षेत्र’ मानिएको अल–मावासीमा समेत आक्रमण भएको छ ।

अल-मावासीमा भएको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । उनीहरुसहित १२५ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ । तर, यसैबेला इजरायलले आक्रमण गरिरहेको छ । यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् । उनीहरूले गाजामा मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख २० हजार ६७३ जना घाइते भएका छन् । गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु संख्या अझ बढ्ने जनाएको छ ।

भग्नावशेषमा धेरै व्यक्ति पुरिएकोले मृतकको संख्या ६१ हजार ७०० भन्दा बढी पुग्ने उनुमान सञ्चार कार्यालयको छ । यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको मृत्यु भएको र २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरणमा परेको इजरायलको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार