विवादास्पद र भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसालविरुद्ध अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ ।>
सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्ध पाँच दिनको म्याद थप भएको हो । काठमाडौं जिल्ला अदालतले आज बुधबार भूसाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट मंगलबार पक्राउ गरेको थियो । उनी गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट पक्राउ परेका थिए । उनले यसअघि सामाजिक सञ्जालमार्फत् विवादास्पद अभिव्यक्ति दिएका थिए । हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भूसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका थिए ।>
भूसालले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिएका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते एकैदिन सुरक्षाकर्मीको गोली लागेर २२ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ ।>>