स्पष्टीकरणपछि फेरि टाँसियो दिव्य ज्योति अस्पतालको स्टिकर! इन्स्पेक्टर घिमिरे विवादमा

लाइभ न्यूज रफतार 3771+ समाचार ( )
बरामदगीका क्रममा गाडीको पछाडिको भागमा अस्पतालको नाम स्पष्ट देखिने स्टिकरसहितका तस्वीरसमेत खिचिएका थिए।
१७ भाद्र २०८३

विराटनगरमा करिब ६० किलो गाँजा बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रविण घिमिरेलाई २४ घण्टे स्पष्टीकरण सोधिएसँगै घटनाले नयाँ मोड लिएको छ। प्रहरी नियन्त्रणमा पुगेपछि हटाइएको भनिएको ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ को स्टिकर गाडीमा फेरि हतार–हतार टाँसिएको तथ्य बाहिर आएको छ।

सशस्त्र प्रहरीको टोलीले ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानबाट करिब ६० किलो गाँजा बरामद गरेको थियो। बरामदगीका क्रममा गाडीको पछाडिको भागमा अस्पतालको नाम स्पष्ट देखिने स्टिकरसहितका तस्वीरसमेत खिचिएका थिए।

बरामदपछि आवश्यक मुचुल्कासहित गाडी र गाँजा इलाका प्रहरी कार्यालय रानीलाई बुझाइएको बताइएको छ। तर, प्रहरीको नियन्त्रणमा पुगेपछि गाडीबाट अस्पतालको नाम खुल्ने स्टिकर हटाइएको तस्वीर सार्वजनिक भएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो।

यही विषयमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रविण घिमिरेसँग जिल्ला प्रहरी कार्यालय मोरङले २४ घण्टे स्पष्टीकरण मागेको छ।

तर, स्पष्टीकरण सोधिएको घटनाले थप प्रश्न जन्माएको छ। स्पष्टीकरण मागिएलगत्तै गाडीमा पुनः अस्पतालको स्टिकर टाँसिएको देखिएको छ।

हटाइएको स्टिकर फेरि किन टाँसियो ?

गाँजा बरामद हुँदाको तस्वीरमा गाडीको पछाडि ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ स्पष्ट देखिन्छ। त्यसपछि प्रहरी नियन्त्रणमा रहेको अवस्थामा खिचिएको तस्वीरमा उक्त स्टिकर देखिँदैन।

तर अहिले फेरि सोही गाडीमा अस्पतालको नाम खुल्ने स्टिकर टाँसिएको देखिएपछि घटनाले थप गम्भीर प्रश्न उठाएको छ।

प्रहरी नियन्त्रणमा रहेको गाडीबाट स्टिकर हटाइयो कसरी ? र २४ घण्टे स्पष्टीकरण सोधिएपछि फेरि त्यही स्टिकर किन टाँसियो ?

यी प्रश्नको जवाफ अबको छानबिनले खोज्नुपर्ने देखिन्छ।

यसअघि पनि गाडीबाट अस्पतालको नाम हटाइएको विषयमा प्रश्न उठेपछि प्रहरी निरीक्षक घिमिरेसँग स्पष्टीकरण मागिएको हो। लाइभ न्यूजसँग रहेको प्रमाणमा घिमिरेले गाडीबाट अस्पतालको नाम हटाइएको विषयलाई ‘ठूलो इस्यु नबनाउन’ भनेको सुनिने दाबी गरिएको छ।

इन्स्पेक्टर घिमिरेमाथि प्रश्नै प्रश्न

गाडी प्रहरी नियन्त्रणमा आएपछि त्यसमा भएको पहिचानजन्य स्टिकर हट्नु, त्यसपछि उक्त विषयमा प्रश्न उठ्नु, प्रहरी निरीक्षकसँग २४ घण्टे स्पष्टीकरण मागिनु र अहिले फेरि गाडीमा स्टिकर टाँसिनुले इलाका प्रहरी कार्यालय रानीको अनुसन्धान प्रक्रियामाथि थप प्रश्न उठाएको छ।

घटनामा प्रहरीको लापरबाही भएको हो वा प्रमाणमा जानाजानी हस्तक्षेप गरिएको हो भन्ने विषय भने छानबिनबाटै स्पष्ट हुने छ।

प्रतिक्रिया

सम्बन्धित समाचार