लैङ्गिक हिंसा: बोली भाषाको हिन्सा र समाजको दृष्टिकोण

Sanjana Kumari Das 5+ समाचार ( )
१० मंगशिर २०८१

लैङ्गिक हिंसा एउटा गम्भीर सामाजिक समस्या हो, जसले समाजको विकास र समतामूलक संरचनामा चुनौती पैदा गरिरहेको छ। हाम्रा घर, गाऊँ, र समाजमा हिंसाका अनेक रूप देखिन्छन्। शारीरिक, मानसिक, आर्थिक, र भावनात्मक हिंसाको चर्चा व्यापक भए पनि, बोली र भाषाले हुने हिंसाबारे चर्चा तुलनात्मक रूपमा कम हुने गरेको छ। महिलाहरू र पुरुषहरू दुवै यस प्रकारको हिंसाबाट प्रभावित छन्।

बोली भाषाको हिन्साको स्वरूप

बोली भाषाबाट हुने हिंसा सामान्य कुराकानी, परम्परागत सम्बोधन, र समाजमा व्याप्त लैङ्गिक असमानताबाट उत्पन्न हुन्छ। हाम्रा गाउँघरमा महिलाहरूले श्रीमान्लाई 'मालिक' भनेर सम्बोधन गर्ने चलनलाई सामान्य मानिन्छ। तर, श्रीमान्ले आफ्नी पत्नीलाई 'माल्किनी' भनेर सम्बोधन नगर्नु केवल भाषाको हिन्सा मात्र होइन, समाजको शक्ति संरचनामा निहित असमानताको प्रतीक हो।

यस प्रकारको सम्बोधनले महिला र पुरुषबीचको समानताको कमीलाई अझै बल पुर्‍याउँछ। महिलाहरूले आफ्ना पतिलाई शक्ति र अधिकारको केन्द्र मान्छन्, तर पतिहरूले आफ्नी पत्नीलाई त्यस्तै सम्मान र हैसियत दिन असमर्थ देखिन्छन्। यसले समाजमा महिला र पुरुषबीचको असमानता र विभेदलाई बल पुर्‍याउँछ।

महिला हिंसाको उदाहरण

महिलाहरूले आफ्नो दैनिक जीवनमा बोली र व्यवहारबाट हिंसा सहने गरेका छन्। महिलाहरूलाई सामान्यतया "कमजोर," "बुद्धु," वा "अयोग्य" जस्ता शब्दले सम्बोधन गरिन्छ, जसले उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउँछ। यस्तै, श्रीमान्ले पत्नीलाई कम सम्मान दिने, उनको विचारलाई बेवास्ता गर्ने, वा हरेक निर्णयमा आफ्नो मात्र अधिकार देखाउने प्रवृत्तिले महिलाहरूको मानसिक स्वास्थ्यमा गहिरो असर पुर्‍याउँछ।

पुरुषमाथि हुने हिन्सा

हाम्रो समाजमा हिंसाको शिकार केवल महिला मात्र होइनन्; पुरुषहरू पनि यसबाट अछुतो छैनन्। पुरुषहरूमाथि हुने हिंसा सामान्यतया भावनात्मक र मानसिक रूपमै देखिन्छ। श्रीमती, परिवार, वा समाजले "कमाउँदैनस्," "असफल छस्," जस्ता शब्दहरूले उनलाई हिंसाको शिकार बनाउँछन्। यो प्रकारको हिंसाले पुरुषहरूको आत्मविश्वास र मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्छ।

लैङ्गिक हिंसाको मनोवैज्ञानिक प्रभाव

बोली भाषाबाट हुने हिंसाले पुरुष र महिलाहरू दुवैको मानसिक स्वास्थ्यमा गहिरो असर पुर्‍याउँछ। महिलाहरूमा न्यून आत्मसम्मान, डिप्रेशन, र तनाव देखिन्छ, भने पुरुषहरूमा मानसिक असन्तुलन, रिस, र आक्रोश उत्पन्न हुन्छ। यसले परिवारमा खटपट र समाजमा असन्तुलन निम्त्याउँछ।

परम्परागत सोच र हिंसाको निरन्तरता

हाम्रो समाजमा परम्परागत सोच र संस्कारले पनि बोली भाषाको हिंसालाई बल पुर्‍याउँछ। "महिलाहरू घरमै सीमित हुनुपर्छ," "पुरुषहरू मात्र निर्णयकर्ताहरू हुन्," जस्ता धारणा हिंसाको मूल कारण हुन्। यस्ता सोचले महिलाहरूलाई परनिर्भर र पुरुषहरूलाई जिम्मेवारीको भारी बोकेजस्तै बनाउँछ।

समाधानका उपाय

बोली भाषाबाट हुने हिंसाको अन्त्यका लागि समाजमा चेतना फैलाउन अत्यन्त आवश्यक छ। यहाँ केही उपाय प्रस्तुत गरिएको छ:

१. शिक्षा: महिलाहरू र पुरुषहरूलाई समानताको महत्व सिकाउन लैङ्गिक शिक्षा आवश्यक छ।

२. संवाद: परिवार र समाजमा खुला संवाद गराएर समस्या समाधानको प्रयास गर्नुपर्छ।

३. सम्बोधन परिवर्तन: महिलाहरू र पुरुषहरूबीचको सम्बोधनमा सम्मानजनक शब्दको प्रयोग गर्नुपर्छ।

४. कानूनी संरचना: बोली भाषाबाट हुने हिंसालाई रोक्न कानूनी व्यवस्था र कारबाहीको प्रवर्द्धन गर्नुपर्छ।

५. सामाजिक अभियान: लैङ्गिक समानताका लागि व्यापक चेतना फैलाउने अभियान सञ्चालन गर्नुपर्छ।

बोली भाषाबाट हुने हिंसा एउटा गहिरो सामाजिक समस्या हो, जसले महिला र पुरुष दुवैलाई प्रभावित बनाएको छ। यस हिंसाको अन्त्यका लागि हाम्रा सोच, व्यवहार, र संस्कारमा परिवर्तन आवश्यक छ। महिलाहरूलाई समानता र सम्मान दिनुका साथै पुरुषहरूलाई पनि परम्परागत सोचबाट मुक्त गर्न आवश्यक छ।

लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि हरेक व्यक्तिले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ। बोली र भाषाबाट सुरु भएको सम्मानले मात्र समानता र न्यायको आधार निर्माण गर्न सकिन्छ। यस अभियानलाई सबैले आ-आफ्नो ठाउँबाट समर्थन गर्नुपर्ने समय आएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार