तराई-मधेसमा पछिल्लो समय बुहारी हत्या र आत्महत्याको शृंखला बढ्दो छ । कतिपय घटनामा त प्रहरीले उजुरी लिन्छ तर छानबिन समेत अगाडि बढ्दैन । कसैगरी छानबिन अघि बढ्यो भने पनि निष्कर्षमा नपुगी त्यत्तिकै सेलाउने गरेका छन् । जनकपुरकी आरती साहको हत्या प्रकरण होस् वा सिरहाकी कञ्चन मण्डलको घटना । विवाहपछि दाइजो र घरेलु हिंसाले बुहारी हत्या र आत्महत्याका घटना बढाइरहेका छन् । मंसिर महिनामा धनुषाकी रोशनी झा र असोजमा अंशु साहको आत्महत्याको दुई घटना सार्वजनिक भए । दुवै घटनामा परिवारले आत्महत्या नभई हत्या भएको दाबी गरेका छन् । रोशनीको हत्या भएको भन्दै उनको परिवारले प्रहरीमा उजुरी दिएको छ । यो घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । छानबिनको क्रममा केही आरोपी पक्राउ परेका छन् । >
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार धनुषा देवान पोखरीका सच्चिन झा र उनका १५ वर्षीय छोरालाई पक्राउ गरिएको छ । यसअघि नै मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्र पक्राउ परिसकेका छन् ।त्यस्तै प्रकृतिको घटनामा धनुषाकै अंशु साहको मृत्यु भएको दुई महिनाभन्दा बढी भइसक्यो, तर हालसम्म प्रहरीले उजुरी लिन मानेको छैन । >
अंशुकी बहिनी आकृति साह भन्छिन्, ‘हामी दिनदिनै प्रहरीमा धाइरहेका छौं, तर प्रहरीले उजुरी लिन मानेको छैन । रोशनी झाको घटना र मेरो दिदी अंशुको घटना उस्तै हो, तर प्रहरीले उजुरी समेत लिन मानेको छैन । उजुरी लिएर छिरेश्वरनाथ प्रहरी चौकीमा जाँदा जिल्ला प्रहरीको एसपीको तोक लागेपछि मात्र दर्ता गर्ने भन्छन् ।‘ तर एसपीले विभिन्न बहाना बनाउँदै भेट्न नमानेको आकृतिको गुनासो छ ।>
तर एसपी रुगमबहादुर कुँवर अंशुको घटनामा कोही पनि उजुरी लिएर नआएको दाबी गर्छन् । ‘म कात्तिकदेखि यहाँ हाजिर भएको छु । त्यसयता त्यस्तो उजुरी लिएर कोही पनि आएको छैन,’ उनी भन्छन्, ‘उजुरी आए प्रहरीले छानबिन गर्छ ।‘असोज १३ गते ३-४ बजेसम्म अंशुँग आफूहरुको सम्पर्कमा रहेको आकृतिले बताइन् । तर अचानक ५–६ बजे त्यस्तो घटना भएको सुन्दा पत्यार नलागेको उनी सुनाउँछिन् । अंशुकी आमा बिना भन्छिन्, ‘हामीसँग कुरा गर्दा उनी निकै खुसी थिइन्, हाँसी हाँसी कुरा गरेकी थिइन् । कुनै समस्या वा झैझगडा भएको केही पनि भनेकी थिइनन् । तर अचानक उनले आत्महत्या गरेको खबर आयो ।‘ उनी अंशुको आत्महत्या होइन, हत्या भएको आरोप लगाउँछिन् । >
‘यदि अंशुले आत्महत्या गरेकी थिइन् भने उनको श्रीमान्, सासूससुराले प्रहरी वा छरछिमेकलाई गर्नुपर्थ्यो सुटुक्क एम्बुलेन्स बोलाएर अस्पताल लगेर घटनालाई ढाकछोप गर्दैनथे,’ अंशुकी बहिनी आकृति भन्छिन्, ‘एम्बुलेन्स आएपछि छिमेकीहरुले सोध्दा बान्ता भएर अस्पताल लगेको भनेर ढाँटेका रहेछन् । अस्पतालमा डाक्टरले यो बोमिटिङ होइन, झुण्डिएर मरेको वा मारिएको हो भनेपछि मात्र उनीहरुले झुण्डिएको गरेका थिए ।’>
दुई वर्षअघि अंशुको शिवकुमार महतोसँग विवाह भएको थियो । घटना हुँदा अंशुको पेटमा सात महिनाको बच्चा हुर्किरहेको थियो । पेटमा सात महिनाको बच्चा हुने कुनै पनि आमाले आत्महत्या गर्न नसक्ने आकृतिको जिकिर छ । >
अंशु र उनका श्रीमान् शिवकुमार स्वास्थ्यकर्मी हुन् । शिवकुमार एउटा प्राइभेट औषधि उद्योगमा काम गर्छन् । अंशुले स्टाफ नर्स थिइन् । गर्भवती भएपछि उनी जागिर छाडेर घरमै बसेकी थिइन् । आफ्नो पढाइ र करिअरप्रति निकै गम्भीर रहेकी अंशुले आत्महत्या गर्ने कुरा कल्पना समेत नगरेको आमा बिनाकुमारी बताउँछिन् । >
राजनीतिक पहुँचका कारण प्रहरीले उजुरी नलिएको अंशुको परिवारको दाबी छ । किटानी जाहेरी लिएर प्रहरीमा जाँदा पनि दुई महिनादेखि झुलाइरहेको गुनासो छ । अंशुकी बहिनी आकृतिले आफूहरुले न्यायका लागि काठमाडौँमा पनि गुहार मागेको तर कसैले सुनुवाइ नगरेको बताइन् । >>