अर्नामा छठघाट तोडफोड प्रकरण : दोषी पहिचान गर्न समिति गठन, १६ वर्षीय किशोरसहित तीन जना पक्राउ

Jugesh Das 25+ समाचार ( )
२ मंगशिर २०८३

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित अर्नामा छठघाटमा छठ पर्वका लागि निर्माण गरिएका संरचनाहरू तोडफोड गरी ध्वस्त पारिएको घटनाको निष्पक्ष छानबिन तथा सामाजिक सद्भाव कायम राख्न समिति गठन गरिएको छ।

हरिनगर गाउँपालिका–७ का वडा अध्यक्ष मौजामिल खाँ (मन्जिल) को अध्यक्षतामा बसेको बैठकले सामाजिक सद्भाव तथा समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको हो।

हरिनगर गाउँपालिका–५, ६ र ७ का बुद्धिजीवी, समाजसेवी, सामाजिक अगुवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकले वडा अध्यक्ष मौजामिल खाँलाई समितिको संयोजकको जिम्मेवारी दिएको छ।

बैठकले छठघाट तोडफोड घटनामा संलग्न वास्तविक दोषीहरूको पहिचान गर्न स्थानीय प्रशासनसँग समन्वय गरी निष्पक्ष छानबिन गर्ने तथा दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाहीका लागि पहल गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ।

यसैबीच, छठघाट तोडफोड घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १६ वर्षीय दिलसाद भन्ने दानिस मन्सुरीलाई पक्राउ गरेको छ। घटनाकै राति प्रहरीले १९ वर्षीय रिजवान अन्सारी र २१ वर्षीय मोहम्मद जहुरलाई पनि नियन्त्रणमा लिएको थियो। यससँगै घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।

थप व्यक्तिहरूको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले जानकारी दिनुभयो।

घटनापछि स्थानीयस्तरमा उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउँदै आपसी सद्भाव, एकता र सामाजिक सहिष्णुता कायम राख्ने उद्देश्यले समिति गठन गरिएको हो।

समितिका संयोजकसमेत रहनुभएका वडा अध्यक्ष मौजामिल खाँ (मन्जिल) ले समाजमा शान्ति र सद्भाव कायम गर्नु समितिको मुख्य उद्देश्य रहेको बताउनुभयो। केही युवाहरूको उच्छृङ्खल गतिविधिका कारण गाउँसमाजमा विवाद उत्पन्न भएको उल्लेख गर्दै उहाँले यस्ता गतिविधि नियन्त्रण गर्न समिति सक्रिय रहने बताउनुभयो।

खाँका अनुसार समिति गठनलगत्तै स्थानीयस्तरमा खोजी कार्य गरी एक जना युवालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ। आगामी दिनमा गाउँसमाज तथा क्षेत्रमा कुनै पनि किसिमका अशोभनीय र उच्छृङ्खल गतिविधि हुन नदिन समितिले सक्रिय भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

समितिले स्थानीयवासीलाई संयमित रहन, आपसी सद्भाव कायम राख्न तथा घटनाको अनुसन्धानमा प्रहरी प्रशासनलाई सहयोग गर्नसमेत आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार