एक करोड बीमा गरेर आफैंले लगाए पसलमा आगो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२६ फाल्गुन २०८१

बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आफैं आगो लगाएको अर्को घटना पोखरामा दोहोरिएको छ । गत पुसमा मात्र पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो ।

यही फागुन ११ गते हबमा आगलागी भएको थियो । यसका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए । नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बीमा रकम दाबी गर्ने गलत मनसाय राखेको अभियोगमा प्रहरीले सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ । अहिले शर्माले पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे खुलाएको तथ्यमाथि आशंका भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । कामदार बिदामा रहेको अवस्थामा रमेश आफैंले आगो लगाएको पाइएको कास्की प्रहरी प्रमुख एसपी ओलियाले जानकारी दिए ।

‘गत माघ महिनामा इन्सुरेन्स गराएको पाइयो । त्यही रकम दावी गरी लिने दूषित मनसायका साथ शर्माले आइटी हबमा आफैंले आगो लगाएको आशंका भयो,’  ‘बीमा रकम दाबी गर्नकै लागि आफैंले आगो लगाएको प्रमाणहरु फेला परेपछि पक्राउ गरी ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएका छौं एसपी ओलियाले भने,  ।’ शर्माले पोखरा–२७ तालचोकमा पनि शर्मा आइटी हब सञ्चालन गर्दै आएका थिए । जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ घर भएका रमेशले ५ वर्ष अगाडिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेका थिए ।

त्यहाँ ६ जना कामदारसमेत छन् ।  उनै शर्माले गत पुसमा न्युरोडमा पसल खोलेर माघमा बीमा गरी फागुन १९ गते आफैंले पसलमा आगो लगाएको पाइएको एसपी ओलियाले जानकारी दिए । यसअघि गत साउन १६ गते बिहान पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यसरी नै सञ्चालक आफैंले आगो लगाएको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार