पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अनुचित काम गरेको भए सजाय भोग्न तयार भएको बयान दिएका छन्।>
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत चैत १७ गते लिएको बयानमा उनले आफूले नियतवश कुनै अनुचित काम गरेको भए सजाय भोग्न तयार रहेको भनेका थिए। >
उनले यसमा आफ्नो कुनियत, बदनियत वा निजी स्वार्थ नरहेको पनि बताएका छन्। ‘मैले कसैलाई पनि नियम कानून र विधि मिचेर काम गर्नु भनेर निर्देशन वा आदेश दिएको छैन। मेरो यस्ता कुरामा कुनै संलग्नता रहेको छैन। मेरो कुनै पनि निर्णयहरू राष्ट्र र जनाताको हितका लागि मुलुकको नियम, कानून र विधि प्रकृया अनुरूप हुनुपर्दछ भन्ने मेरो मान्यता रहने गरेको छ। मलाई शंका नगर्न, मेरो नियतमा प्रश्न नगर्न म अनुरोध गर्न चाहन्छु,’ उनले भनेका छन्। >
उनले अगाडि भने, ‘कुनै अनुचित काम र कुरा मबाट नियतपूर्वक भएको छ भने सम्पूर्ण सजाय भोग्न तयार छु। अनुचित काम र कुरा रोक्ने कुरामा मेरो पूर्ण साथ र सहयोग रहनेछ। म फेरि पनि भन्न चाहन्छु कि मैले कुनै पनि निर्णय निजी स्वार्थबाट प्रेरित भई वा जानाजान देशलाई नोक्सान हुने गरी गरिएको छैन।’ >
उनलाई अख्तियारले लगाएका अधिकांश आरोपबारे अहिले स्मरण नभएको बताएका छन्। हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिन मिल्ने अवस्था के कति कारणले निर्णय भयो भन्ने विषयमा पनि याद नभएको बताएका छन्। ‘...हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिन मिल्ने अवस्था के कति कारणले हदबन्दी छुट दिने निर्णय भयो भन्ने सम्बन्धमा मलाई स्पष्ट याद आइरहेको छैन तर कुनै पनि काम गर्दा नियम, विधि पुर्याइ देश र जनतालाई हित हुने कुरालाई केन्द्रविन्दुमा राख्नुपर्छ भन्ने मेरो सधै मान्यता रहिआएको छ,’ बयानमा उनले भनेका छन्, ‘तत्कालीन कर्मचारी, निकाय र कानूनसँग जोडिएको निकायले यसमा ध्यान पुर्याउनुपर्ने हो।>
यसमा म जोड दिन चाहन्छु तर यी कुनै पनि काम निजी स्वार्थ प्रेरित गलत उद्देश्य राखी म बाट भएको छैन भन्ने कुरा ठोकुवाका साथ भन्न चाहन्छु।’>>