अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
११ असार २०८२

अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ। विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो। नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ।

सङ्घले आजदेखि लागू हुनेगरी समर्थन मूल्य तोकेको छ। बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ। दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको छ। व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट) को ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताए। चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको उनले बताए। गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन्। अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो। धेरै किसान विस्थापित समेत भएको अध्यक्ष पोखरेल बताउँछन्। गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट यहाँ ल्याइएका नमूना हेर्दा ५० फार्ममा एच ९ (एचनाइन) रोगको सङ्क्रमण देखिएको छ।

यससँगै गम्बारो, साल्मोनेलाजस्ता समस्या छन्। जसले गर्दा अण्डाको उत्पादन घटेको उनी बताउँछन्। वर्षातको समयमा चर्काे गर्मीसँगै ढुसीजन्य आहारका कारण रोग बढ्ने र उत्पादन घट्ने प्रमुख डा श्रेष्ठ बताउँछन्।


प्रतिक्रिया

सम्बन्धित समाचार