नेकपा एमालेमा संकट बढ्दै , त्यसको परिणाम अनुमान लगाउन नसकिने

लाइभ न्यूज रफतार 3761+ समाचार ( )
२० असार २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेमा संकट बढ्दै गएको भन्दै त्यसको परिणाम अनुमान लगाउन नसकिने खालको भएको बताएका छन् । शुक्रबार काठमाडौंमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

एमाले पार्टीभित्र अन्तरविरोध बढ्दै गएको र त्यसको भविष्य के हुन्छ भन्नेबारे सजिलै भन्न सकिने अवस्थामा नरहेको बताए । ‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले निकै संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । त्यसको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिँदैन,’ अध्यक्ष नेपालले भने । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने प्रवृत्तिलाई परास्त गर्नैपर्ने अध्यक्ष नेपालको भनाइ थियो । ‘कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै होइन, दक्षिणवादी प्रवृत्ति बोक्ने जुनसुकै प्रवृत्ति बोकेका छन् भने त्यसलाई परास्त गर्नैपर्छ,’ अध्यक्ष नेपालले भने ।

उनले देशको राजनीतिक अवस्थालाई वर्तमान सरकारले राम्रोसँग हाँक्न नसकेको पनि बताए । ‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्ररी हाँक्न सकेको छैन । सही नीति अवलम्बन गर्न सकेको छैन,’ उनले भने । वर्तमान सरकारलाई आफूहरूले साथ दिने कुरा नहुने हुँदा यसको पतन अनिवार्य भएको जिकिर गरे । ‘यस्तो सरकारलाई हामीले साथ दिने कुरै हुँदैन । यसको पतन अनिवार्य छ । खाली हामी पर्खनुपर्ने हुन्छ । आत्तिनुपर्ने अवस्था छैन,’ अध्यक्ष नेपालले भने, ‘हामी देशैभर अधिवेशन गरिरहेका छौं । एक दुई वटा प्रदेशमा मात्रै बाँकी छ ।’


प्रतिक्रिया

सम्बन्धित समाचार