नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका सार्वजनिक

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ असार २०८२

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका सार्वजनिक भएको छ । नेपालसहित चार राष्ट्रका टोलीसँगै अस्ट्रेलियन बिग ब्यास लिगका एकेडेमी टोलीहरू सहभागी सिरिजमा नेपालले ६ खेल खेल्ने छ । नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ।

दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए विरुद्ध हुनेछ। तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स विरुद्ध हुनेछ भने पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स विरुद्ध हुनेछ। अन्तिम लिग खेल नेपालले २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध दिउँसो ३:१५ बजे खेल्नेछ। यस सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले सहभागिता जनाएका छन्। लिग चरणमा शीर्ष ४ हुने टिमबाट सेमिफाइनल खेलिनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । नेपाल फाइनलसम्म पुगेको अवस्थामा कुल ८ खेल खेल्नेछ । सिरिज २०२३ मा जम्मा ५ टोलीले खेलेकोमा यसपटक ११ टिम पुगेको छ ।

नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो।

गत संस्करणमा पाकिस्तान शाहीन्सबाट हेदर अली, शाहनवाज दाहानी, अब्दुल समाद तथा बंगलादेश ए बाट मोहम्मद नइम, तोहिद रिदोय जस्ता नाम चलेका खेलाडीहरूले सहभागिता जनाएका थिए। यसपटक पनि सिनियर टोलीबाट खेलिसकेका केही खेलाडी तथा बिग ब्यास लिगमा खेलिसकेका खेलाडीहरू पनि विभिन्न टोलीमा देख्न पाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार