सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का सन्तोष मेहताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी आवेदन दिएका छन्। उनले पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दर्ता गराएको जनाइएको छ। उनको उम्मेदवारी प्रक्रियाले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ।>
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय मेहताले विभिन्न अस्पतालमा प्रशासककाे रूपमा काम गर्दै आएका छन्। यस क्रममा सुनसरीसहित विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामी तथा तिनका परिवारसँग समन्वय गर्दै उनीहरूको विश्वास जित्न सफल भएको उनीनिकट स्रोतको भनाइ छ।>
स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएका, गरिब तथा अतिविपन्न परिवारका बिरामीलाई निःशुल्क उपचारका लागि सहयोगसमेत गर्दै आएको बताइएको छ। स्वास्थ्य सेवासँग जोडिएर सामाजिक काममा सक्रिय रहँदै आएका मेहता अब राजनीतिमार्फत गाउँको नेतृत्वमा पुग्ने आकांक्षासहित अघि बढेका हुन्।>
मेहताले निजामती सेवामा समेत काम गरेको अनुभव छ। उनले निजामती सेवाको जागिर छाडेर उच्च शिक्षा हासिल गरेका हुन्। भारतको कुरुक्षेत्र विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबीए) उपाधि प्राप्त गरेका उनी हाल विराटनगरस्थित प्राइम अस्पतालका सञ्चालक सदस्यसमेत हुन्।>
रास्वपाका पुराना समर्थकका रूपमा चिनिने मेहताले गाउँपालिकाको नेतृत्वमा युवा सहभागिता, सुशासन र विकासलाई प्राथमिकता दिने आकांक्षा राखेका छन्। स्वास्थ्य क्षेत्रको अनुभव, व्यवस्थापकीय पृष्ठभूमि र सामाजिक सेवामा जोडिएको आफ्नो यात्रालाई राजनीतिक जीवनसँग अघि बढाउने उनको प्रयासले स्थानीयस्तरमा चासो बढाएको छ।>
स्वास्थ्य सेवामा लामो समय बिताएका मेहता गाउँपालिका अध्यक्ष पदको उम्मेदवारी प्रक्रियामा अघि बढेपछि स्थानीय बासिन्दाले उनको राजनीतिक यात्रालाई चासोका साथ हेर्न थालेका छन्। यद्यपि, रास्वपाबाट उनको अन्तिम उम्मेदवारी तथा पार्टीको आधिकारिक निर्णयबारे भने पुष्टि हुन बाँकी छ।>>