नेपालमा विदेशी नागरिकको उपस्थितिसँगै अध्यागमन उल्लङ्घनका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ। पछिल्ला वर्षहरूमा नेपालबाट निष्कासित हुने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी देखिनुले राज्यको निगरानी प्रणाली र भिसा व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ।>
अध्यागमन विभागका अनुसार सन् २०२२ मा १९१ जना र सन् २०२३ मा २०९ जना चिनियाँ नागरिकलाई अध्यागमन नियम उल्लङ्घन गरेको आरोपमा नेपालबाट निष्कासन गरिएको थियो। लगातार दुई वर्ष उच्च संख्या देखिनु संयोग मात्र नभएको विश्लेषकहरूको टिप्पणी छ। यता, लाइभ न्यूज रफ्तारले गरेको अध्ययनले सन् २०२५ मा मात्रै ५०१ जना विदेशी नागरिक नेपालबाट निकालिएको खुलासा गरेको छ। तीमध्ये १२० जना चिनियाँ, ७५ जना बङ्गलादेशी, ३५ जना अमेरिकी र १८ जना पाकिस्तानी नागरिक रहेका छन्। अन्य देशका नागरिक समेत जोड्दा कुल संख्या ५०१ पुगेको हो। अझ चकित पार्ने तथ्य के छ भने विगत सात वर्षमा ३,५०० भन्दा बढी विदेशी नागरिक नेपालबाट निष्कासित भइसकेका छन्। अध्यागमन अधिकारीहरूका अनुसार निष्कासितमध्ये ठूलो हिस्सा ‘ओभर–स्टे’ गर्ने अर्थात् भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बस्ने पर्यटक हुन्। सुरक्षा तथा नीतिगत विश्लेषकहरू भन्छन्—नेपाल पर्यटकका लागि खुला र आकर्षक गन्तव्य बनेसँगै भिसा दुरुपयोग गर्ने प्रवृत्ति पनि बढेको देखिन्छ। विशेषगरी केही देशका नागरिक बारम्बार नियम उल्लङ्घनमा देखिनुले निगरानी प्रणाली पर्याप्त कडा छ कि छैन भन्ने प्रश्न उठेको छ।>
यद्यपि विज्ञहरू स्पष्ट पार्छन्—सबै विदेशी नागरिकलाई एउटै आँखाले हेर्नु उचित हुँदैन। अधिकांश पर्यटक वैध रूपमा आउने भए पनि सीमित समूहको उल्लङ्घनले समग्र प्रणालीमाथि दबाब बढाएको हो। त्यसैले कडा निगरानी, डिजिटल ट्र्याकिङ, र समयमै कारबाही अब अपरिहार्य भएको उनीहरूको सुझाव छ। यदि अध्यागमन व्यवस्थापन अझ प्रभावकारी बनाउन सकिएन भने नेपाल ‘सफ्ट डेस्टिनेसन’ का रूपमा दुरुपयोग हुने जोखिम बढ्ने चेतावनी सुरक्षा क्षेत्रले दिएको छ। अब प्रश्न उठेको छ—विदेशी आगमनसँगै सुरक्षा सन्तुलन कायम गर्न राज्य कति तयार छ?>>