यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ । >
यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ । यो रुटमा यसअघि बुद्ध एयरले नियमित उडान गर्दै आएको छ । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ । >
दोहाबाट २:४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । भैरहवामा उडान गर्ने कतार अब पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।>
>>