विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदारले पार्टीभित्रको गुटगत राजनीतिभन्दा माथि उठेर सबै पक्षलाई समेट्ने साझा नेतृत्व निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।>
शनिबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा तवदारले आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थका लागि नभई पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले भएको बताए। उनले आन्तरिक एकता बलियो बनाउँदै कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे।>
उनका अनुसार पार्टीका अग्रज नेताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकै ठाउँमा जोडेर संगठनलाई गतिशील बनाउनु आवश्यक छ। त्यसका लागि युवालाई नेतृत्व विकासको अवसर प्रदान गर्ने तथा जनताका सुख–दुःख र जनसरोकारका विषयमा कांग्रेसको निरन्तर उपस्थिति सुनिश्चित गर्ने उनले बताए।>
तवदारले क्षेत्रीय सभापतिमा निर्वाचित भए पार्टी कार्यालय निर्माणलाई समेत प्राथमिकताका साथ अघि बढाउने घोषणा गरे। उनले क्षेत्रीय पार्टी कार्यालयका लागि आफूले यसअघि नै आफ्नो जग्गा निःशुल्क उपलब्ध गराइसकेको जानकारी दिँदै सोही स्थानमा व्यवस्थित कार्यालय भवन निर्माण गर्ने प्रतिबद्धता जनाए।>
पार्टीभित्रको विभाजनले संगठन कमजोर हुने भन्दै तवदारले एकता र संगठनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। व्यक्तिगत स्वार्थभन्दा पार्टी र जनताको हितलाई प्राथमिकतामा राख्दै मोरङ क्षेत्र नं. ६ मा कांग्रेसको संगठन थप सुदृढ बनाउने उनको भनाइ छ।>
तवदारले आफ्नो नेतृत्वको प्राथमिकता ‘विभाजन होइन, एकता; गुट होइन, संगठन’ भन्ने आधारमा अघि बढ्ने बताए।>>