गुजरातको राजधानी अहमदाबादबाट लन्डन उडेको जहाज पाँच मिनेटमै दुर्घटनाग्रस्त भएको छ। उक्त जहाज धावनमार्ग छोडेर केही उचाइ माथि जानेबित्तिकै बिस्तारै तल झर्न थालेको थियो। >
जहाजको उचाइ घट्दै गएपछि वरपरका प्रत्यक्षदर्शीले भिडिओ खिचेका थिए। उक्त भिडिओका आधारमा जहाजले उचाइ लिन नसकेको र खसेर विमानस्थल नजिकको घरमाथि खसेको देखिन्छ। त्यो घर डाक्टरहरूको आवासीय भवन भएको भारतीय मिडियाहरूले जनाएका छन्। घरमाथि जोतिनेतबित्तिकै ठूलो विस्फोटको आवाजसहित आगोलागी भएको थियो। आगो लागेको र धुवाँको मुस्लो निस्किएको भिडिओ पनि प्रत्यक्षदर्शीहरूले कैद गरेका छन्।चालक दलका सदस्यसहित २४२ जना रहेको उक्त जहाज दुर्घटना भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह अहमदाबादतर्फ लागेका छन्। उनीहरू दुवैको गृहराज्य नै हो। एयर इन्डियाले पनि विज्ञप्ती जारी गरेर दुर्घटनाको प्रारम्भिक जानकारी दिए पनि हताहतिबारे भने पुष्टि गरेको छैन। >
घटनालगत्तै दुर्घटनास्थल आसपासको क्षेत्र खरानीले ढाकिएको थियो। उद्धार टोली जहाजमा लागेको आगो निभाएर शव निकाल्न लागेका छन्। शव अहमदाबादको सरकारी अस्पतालमा राखिएको छ। अस्पतालमा मृतकका आफन्तको भीड लाग्न थालेको छ। >>