काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक सोमबार (असार २३ गते) पनि रद्द भएको छ । >
महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, आज हुने भनिएको बैठक रद्द भएको हो । “आज बैठक बस्ने भनिएको थियो ।तर, बस्न सकेन । अब भोलि गर्ने तयारी छ । समितिको बैठक बसेपछि मात्रै कार्यपालिका बैठकको मिति तय हुन्छ,” उनले भने । समितिका सदस्य–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी प्रावधान छ । सात महिना लामो विवादका कारण महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन । बैठक नबस्दा महानगरको बजेट पनि अन्योलमा छ ।>
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग मेयर बालेन्द्र शाह (बालेन) बैठक बस्न तयार नहुँदा समस्या झन जटिल बन्दै गएको छ । बैठकबारे आफूलाई कुनै जानकारी नआएको गुरागाईंले बताए । “बैठकबारे कुनै जानकारी पाएको छैन,” उनले भने ।>>