सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार : मिलनकुमार थापा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३० जेठ २०८०

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जल-हरी लगाउँदा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफूलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए ।

संसदीय समितिमा रुँदै प्रस्तुत भएका सदस्य सचिव थापाले यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको तर्क गरे । पशुपतिमा सुनको जलहरी लगाउँदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको उनले बताए ।अदालतबाट सुनको जलहरी हाल्न हुँदैन भनेर प्रदेश सांसद नरोतम वैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको उनले दाबी गरे ।

उनले १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए । उनले यथार्थ नबुझि आफूलाई सुन चोर भनेर टिप्पणी गरेको गुनासो गरे ।  उनले यस प्रकरणमा आफू निकै पीडित भएको बताए । समितिले राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्र विकास कोषको सम्पत्ति र यसको उपयोग सम्बन्धमा कोषका पदाधिकारीसँग छलफल गरेको थियो ।  -+

प्रतिक्रिया

सम्बन्धित समाचार