मनसुन सक्रिय भएसँगै दाङका गढवा र राप्ती गाउँपालिकाले गरे विद्यालयहरु बन्द

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१६ असार २०८२

मनसुन सक्रिय भएसँगै दाङका गढवा र राप्ती गाउँपालिकाले विद्यालयहरु बन्द गरेका छन् । गढवा गाउँपालिकाले पाँच दिन र राप्ती गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गढवा गाउँपालिकाले असार १६ गतेदेखि २० गतेसम्म तथा राप्ती गाउँपालिकाले १६ र १७ गते विद्यालय बन्द हुने सूचना जारी गरेका छन् । गढवा गाउँपालिकाका शिक्षा अधिकृत श्यामबहादुर विकले जारी गरेको सूचनामा खेतिपातीको समय भएको र विद्यार्थीको उपस्थिति न्यून भएकाले वर्षे बिदाबाट कट्टी हुने गरी पाँच दिन विद्यालय बन्द हुने व्यहोरा उल्लेख छ ।

यसैगरी राप्ती गाउँपालिकाका बरिष्ठ शिक्षा अधिकृत विश्वास  विकले जारी गरेको सूचनामा भने भारी वर्षासँगै जोखिम बढेकाले संस्थागत, सामुदायिक र धार्मिक विद्यालयमा पठनपाठन बन्द हुने व्यहोरा उल्लेख छ । सूचनामा बिदा अवधिमा आफ्ना बालबालिका, विद्यार्थीहरुलाई साना तथा ठूला खोलानाला, नदी, ताल, इनार र पोखरीहरुमा वरपर जान नदिन अभिभावकहरुलाई अनुरोध समेत गरिएको छ । राप्ती र गढवा गाउँपालिका दुबै दाङका देउखुरी क्षेत्रमा पर्दछन् । यी क्षेत्रमा शनिबार रातिदेखि नै भारी वर्षा भइरहेको छ । वर्षाले साना खोलाखोल्सीमा बाढी आएको छ भने कतिपय विद्यालय परिसर जलमग्न भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार गढवाको वर्षा मापन केन्द्रमा गत २४ घण्टामा १०१.८ मिलमिटर वर्षा भएको छ ।

गढवाको सिमानामा पर्ने अर्घाखाँचीको रङसिङ वर्षा मापन केन्द्रमा १२९.४ मिलिमिटर र गढवाकै कोइलाबासमा ६६.४ मिलिमिटर वर्षा भएको छ । यस्तै राप्ती गाउँपालिकामा पर्ने लालमटियामा ९३.४, बगासोतीमा ८८.४ र राप्ती गाउँपालिकासँग जोडिएको लमहीमा ५३.८ मिलिमिटर वर्षा भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार