नेकपा माओवादी केन्द्रले पार्टीका सबै केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो पुस २१ गतेदेखि काठमाडौंमा सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि तयार पारिरहेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरेका हुन् । >
उनले नेताहरूको जीवन शैली बदलिएकोप्रति आम नागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा लेखेका छन्। माओवादी केन्द्रमा ४०७ जना केन्द्रीय सदस्य छन्। अध्यक्ष प्रचण्डले आफूले तयार पारिरहेको प्रतिवेदनबारे बिहीबारको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए। १० वर्षे सशस्त्र संघर्ष र २०६४ को संविधान सभा निर्वाचन अघिसम्म माओवादीका नेताहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने गर्थे। त्यसपछि माओवादीमा नेताहरूको जीवनशैली बदलिएको प्रश्न उठ्दै गए पनि नेतृत्वले त्यसबारेमा नजरअन्दाज गर्दै आएको थियो। >
अब फेरि ०८४ सम्म सरकारमा सहभागी नहुने बताउँदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा आफ्नो उक्त प्रस्ताव पनि राखेका छन्। बैठकमा उनले जनताको मन जित्ने र आउँदो चुनावमा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै प्रतिष्पर्धा गर्ने विषय प्रतिवेदनमा उल्लेख गरेको बताएका छन्।>>