विश्व प्रसिद्ध टेलिभिजन कार्यक्रम ‘सार्क ट्यांक’ नेपाल भित्रिएको छ । हिमालय टेलिभिजनले ‘सार्क ट्यांक नेपाल’ ल्याएको हो । राजधानीमा सोमबार पत्रकार सम्मेलनमार्फत कार्यक्रम ‘सार्क ट्यांक’ नेपाल र सार्क (निर्णायक) सार्वजनिक गरिएको हो ।>
सार्क नेपाली संस्करणमा आईएमई ग्रुपका सह–संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्मज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन् । नेपालमा यो कार्यक्रम सुरु गर्न सोनी पिक्चर्ससँग तीन वर्षअघि नै सम्झौता गरिए पनि विविध कारणले तीन वर्षपछि मात्रै सुरु गर्न लागेको हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । “‘सार्क ट्यांक’ विश्वभरका ५३ देशमा प्रसारण भइसकेको र आजदेखि नेपाल यसको ५४औँ राष्ट्रका रूपमा थपिएको छ,” उनले भने, “नेपालजस्तो सानो भूगोल र जनसंख्याका कारण व्यवसायीले आफ्नो क्षमता प्रस्ट देखाउन सकेका छैनन् । >
यही कारण, यस्तो कार्यक्रम नेपाललाई थप आवश्यकता महसुस गरिएको हो ।” सोका जजमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने जनाइएको छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ । कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ ।>>