जेनजी आन्दोलनपछि पुनः श्रम स्वीकृति लिएर विदेश जानेहरू बढेका छन्। वैदेशिक रोजगार विभागका अनुसार भदौ २३ र २४ को आन्दोलन लगत्तै, असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए।>
यसमध्ये नयाँ श्रम स्वीकृति लिनेहरू ३३ हजार २६१ जना छन्। बाँकी ३१ हजार ३७३ जना पुनः श्रम स्वीकृति लिएका हुन्। २०८१ असोजको तुलनामा यसपालि बिदेसिने र एक पटक गएकाहरू पुनः बिदेसिने दुवै संख्या बढेको हो। २०८१ असोजमा कुल ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए। यसमा नयाँ अहिलेको भन्दा धेरै, ३४ हजार १६९ जना थिए। १९ हजार ३५६ जना पुनः स्वीकृति लिएकाहरू थिए।>
त्योभन्दा अघिल्लो साल, २०८० असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका थिए। नयाँ ३८ हजार ९४२ जना थिए भने पुनः लिनेहरू १७ हजार २९३ जना थिए। यसरी पछिल्ला तथ्यांकले नयाँ श्रम स्वीकृति लिनेहरू थोरै थोरै कम हुँदै गएको देखाएको छ। तर पुनः श्रम स्वीकृति लिएर जानेको संख्या बढेको छ। कात्तिकमा पनि यही प्रवृत्ति देखिएको छ।>
यो कात्तिकमा ७३ हजार ९४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यसमध्ये नयाँ २२ हजार ५१४ जना हुन्। बाँकी ५० हजार ५८० पुनः स्वीकृति लिएर गएकाहरू हुन्।जबकि २०८१ कात्तिकमा ७० हजार ९९० जनामध्ये नयाँ स्वीकृति लिनेहरू ३६ हजार ८२४ जना थिए। पुनः लिनेहरू ३४ हजार १६६ जना थिए।>
>>