बर्जु गाउँपालिकाका अग्निपीडित जनतालाई कोशी प्रदेश सरकारद्वारा क्षतिपूर्ति रकम उपलब्ध

लाइभ न्यूज रफतार 2416+ समाचार ( )
५ वैशाख २०८१

सुनसरीको बर्जु गाउँपालिकाका अग्निपीडित जनतालाई कोशी प्रदेश सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।  गत चैत्र ४ गते भएको आगलागीमा परी जनधनको क्षति व्यहोरेका बर्जु–४ स्थित जयनगर टोलका १५ घरधुरीलाई सरकारले क्षतिपूर्ति दिएको हो ।

कोशी प्रदेशकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङले सोमबार बर्जुका अग्निपीडितलाई क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेकी हुन् । रकम हस्तान्तरण गर्दै उनीले अग्निपीडितहरुको पुर्नबासका निम्त्ति प्रदेश सरकारले तयारी गरिरहेको बताइन् । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्मित कार्यविधि अनुसार अग्निपीडितलाई आवासको व्यवस्थापन मिलाउन आवश्यक गृहकार्य भइरहेको उनीले जानकारी दिइन् । आगलागीमा परी ठुलो जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई कोशी प्रदेश सरकारले विपदसम्बन्धी कार्यविधि अनुसार क्षतिपूर्ति दिँदै आएको छ ।  बर्जु–४ का अग्निपीडित जनताले पनि सोमबार सोही कार्यविधिअनुसार क्षतिपूर्ति रकम प्राप्त गरेका हुन् ।

ठुलो जनधनको क्षति भएका कुल १५ मध्ये १३ घरधुरीलाई रु. ३० हजार र बाँकी २ घरधुरीलाई रु. ५० हजारका दरले क्षतिपुर्ति उपलब्ध गराईएको सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।  सुनसरीको बर्जु–४ स्थित जयनगर टोलमा गत चैत्र ४ गते आगलागी भएको थियो । आगलागीमा स्थानीयको ठुलो धनमालको क्षति भएको थियो ।

लाखौंको धनमाल र गरिखाने आधार नै जलेर नष्ट भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समेत गत चैत्र दोश्रो साता घटनास्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी थिइन् ।  बर्जु–४ का अग्निपीडित जनताहरु हाल भने अस्थायी टहरामा बस्दै आएका छन् ।


प्रतिक्रिया