आइतबार प्रतिकुल मौसमका कारण नेपालका धेरैजसो विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको छ । >
वायुसेवा कम्पनीहरुका अनुसार आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन सकेन । तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगन्जमा १० बजेपछि हुस्सु खुल्न थालेको छ । यद्यपि उडानहरु प्रभावित रहेको बुद्ध एयरले जनाएको छ । तराई र पहाडी भेगमा बाक्लो सुस्सुका कारण उडान प्रभावित हुने गरेका छन् । सोहीकारण आज बिहानका अधिकांश आन्तरिक उडान डिले भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । >
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।>
‘तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ’, मौसमविद् महर्जनले भन्नुभयो, ‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।’ पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको उनले बताए ।>>