ह्वाट्सएपमा आएको कागज सार्वजनिक गर्दा गल्ती भयो : दुर्गा प्रसाईं

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१६ मंगशिर २०८१

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् । साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको जिकिर गरेका हुन् ।

‘मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपथ्र्यो, तर ह्वाटसएपमा आएको कागज सार्वजनिक गर्दा गल्ती भयो’, प्रसाईंको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘खासमा ती कागजहरू फर्जी नै थिए ।’ प्रसाईंले ३ मंसिरमा युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको दाबी गरेका थिए । आफ्नो दाबीलाई पुष्टि गर्न उनले प्रमाण भन्दै एउटा कागज सार्वजनिक गरेका थिए । तर, प्रहरीले प्रारम्भिक जाँच गर्दा नै त्यो कागज फर्जी रहेको भेटिएपछि ४ मंसिरमा प्रसाईं भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । अनुसन्धान अधिकृतहरूले पनि हस्ताक्षरको जाँच गराएका थिए । त्यसक्रममा पनि हस्ताक्षर नमिलेको रिपोर्ट आएको अधिकृतहरूको भनाइ छ । युट्युबरहरूसँग कुरा गर्दै प्रसाईंले ‘यो प्रमाण ल्याउनलाई १ करोड ११ लाख’ खर्चेको बताएका थिए । यसबारे समेत अनुसन्धान अधिकृतहरुले उनलाई प्रश्न राखेका थिए ।  प्रहरीले प्रसाईंविरुद्ध हालै आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान थालेको छ ।

भारतको आछामबाट प्रसाईंका सहयोगी ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँल पक्राउ परेसँगै उनीमाथि आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान थालिएको हो । फुयाँलले प्रसाईंको निर्देशन अनुसार, नेपालका विभिन्न व्यवसायी र पेशाकर्मीलाई दुर्गा प्रसाईंको अभियानमा सहयोग गर्न भन्दै धम्की दिने गरेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार