नेपाली सेनाको कमाण्ड आजदेखि सिग्देलले सम्हाल्दै

GrihaSewa Pvt.Ltd. 42+ समाचार ( )
२४ भाद्र २०८१

 नेपाली सेनाको कमाण्ड आजबाट परिवर्तन भएको छ । प्रभुराम शर्मा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सैनिक नेतृत्व परिवर्तन भएको हो ।

नेपाली सेनाको कमाण्ड आजदेखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन् । उनलाई  राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गरेका  छन्  । त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् ।

सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् । राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई २४ भदौदेखि लागु हुने गरी प्रधानसेनापति नियुक्त गरेका थिए । नेपाली सेनामा चार दशक बिताएका शर्मा २४ साउनदेखि बिदामा बसेका थिए । जंगी अड्डाले आजै बेलुका उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको छ ।

को हुन् सिग्देल रु ३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो ।उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन् ।आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उनले जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन् ।

प्रधानसेनापतिको सैनिक सचिवसमेत रहिसकेका सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको नेतृत्व तहमा बसेर समेत काम गरेका थिए ।संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन् ।

जन्म मिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए । सिग्देलको जन्म मितिमा पनि विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको बताएको थियो ।



 

प्रतिक्रिया

सम्बन्धित समाचार