विराटनगर । रसुवाको रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विराटनगरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ।>
विराटनगर महानगरपालिका–१ पोखरीया निवासी भरत कुमार साह र मनोज कुमार ठाकुरको आयोजनामा धार्मिक तथा आध्यात्मिक कार्यक्रमअन्तर्गत महायज्ञ सञ्चालन गरिएको हो।महायज्ञको प्रतिनिधि सभा सदस्य खगेन्द्र कर्णले दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै कर्णले रसुवामा आएको बाढीपहिरोजस्तो भीषण विपद्का बेला युवाहरूले देखाएको उदारता र मानवीय भावनाको प्रशंसा गर्नुभयो।>
उहाँले सनातन हिन्दू धर्मको संस्कारअनुसार विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै आयोजना गरिएको धार्मिक कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो। विपद्को पीडामा परेका परिवारप्रति धार्मिक तथा सामाजिक रूपमा ऐक्यबद्धता जनाउनु सकारात्मक कार्य भएको उहाँको भनाइ थियो।>
आयोजकका अनुसार रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै घर तथा बस्ती प्रभावित भएका छन्। विपद्का कारण धेरै परिवार विस्थापित हुनुका साथै आफन्त गुमाउनुपरेको अवस्थाप्रति संवेदना व्यक्त गर्दै मृतकहरूको चिरशान्तिको कामना र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्न महायज्ञ आयोजना गरिएको हो।>
आयोजक भरत कुमार साह र मनोज कुमार ठाकुरले विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै धार्मिक अनुष्ठानमार्फत दिवंगत आत्माको शान्तिको कामना गर्नुभएको छ। साथै, उहाँहरूले विपद्बाट प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै मानवीय सहयोग र सद्भाव कायम राख्न आह्वान गर्नुभएको छ।>
महायज्ञमा श्रीमद्भागवत कथा वाचन, धार्मिक अनुष्ठान, भजन–कीर्तन तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार सप्ताहव्यापी महायज्ञमार्फत दिवंगत आत्माको शान्तिको कामना गर्नुका साथै विपद्का कारण पीडित बनेका परिवारप्रति धार्मिक तथा मानवीय एकता र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ।>>