नयाँ दिल्ली, अक्टोबर २६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ब्रिक्स राष्ट्रका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै विभिन्न विषयमा विचार आदानप्रदान गरेका छन्। भेटमा रुस, चीन, इरान र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशका संसदीय प्रतिनिधिहरू सहभागी थिए।
नयाँ दिल्लीस्थित संविधान सदनमा आयोजना भइरहेको १२औँ ब्रिक्स संसदीय मञ्चले सदस्य तथा साझेदार राष्ट्रका संसदीय नेताहरूलाई एकै ठाउँमा ल्याएको छ। दुईदिने उक्त कार्यक्रमको उद्देश्य संसदीय सहकार्यलाई सुदृढ बनाउनुका साथै जनकेन्द्रित विकासलाई अघि बढाउने उपायबारे छलफल गर्नु रहेको छ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै सन् २०२६ को १२औँ ब्रिक्स संसदीय मञ्चका क्रममा ब्रिक्स राष्ट्रका सांसदहरूसँग उत्कृष्ट भेटवार्ता भएको र विभिन्न विषयमा विचार आदानप्रदान गरिएको बताएका छन्।
भेटवार्तामा प्रधानमन्त्री मोदीका अतिरिक्त भारतका विदेशमन्त्री एस. जयशंकर, कांग्रेस सांसद शशि थरुरलगायत भारतीय सांसदहरूले पनि सहभागी राष्ट्रका संसदीय प्रतिनिधिहरूसँग छलफल गरेका थिए।
कार्यक्रममा सहभागी ब्रिक्स सदस्य राष्ट्रहरूमा ब्राजिल, रुस, चीन, इजिप्ट, संयुक्त अरब इमिरेट्स र इरान रहेका छन्। त्यसैगरी, साझेदार राष्ट्रका रूपमा बेलारुस, क्युबा, थाइल्यान्ड, युगान्डा, भियतनाम, उज्बेकिस्तान र काजाकस्तानका प्रतिनिधिहरू सहभागी छन्।
ब्रिक्स संसदीय मञ्चलाई सदस्य तथा साझेदार राष्ट्रबीच संसदीय संवाद, आपसी सहकार्य र जनमुखी विकासका विषयमा साझा समझदारी निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
>