एनपिएल सिजन-२ मा १४ देशका ३४ खेलाडीले खेल्ने पक्का, सबभन्दा धेरै इंग्ल्यान्डका

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२८ कार्तिक २०८२

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन मंसिर १ गतेदेखि सुरू हुँदैछ।दोस्रो सिजनका लागि आठै वटा फ्रेञ्चाइज टोलीले तयारी तीव्र पारेका छन्। विदेशी खेलाडीका कारण रौनक बढिरहेको यो सिजनमा अहिले १४ देशका ३४ खेलाडी भित्रिसकेका छन्। फ्रेञ्चाइज टोलीले कोटाअनुसार विदेशी खेलाडी भित्र्याउन बाँकी रहेकाले यो संख्या अझ बढ्नेछ।

एक फ्रेञ्चाइज टोलीमा अधिकतम ६ जना विदेशी खेलाडी भित्र्याउन सक्ने प्रावधान छ। जसमा प्लेइङ-११ मा ४ जना मात्र विदेशी खेलाडीले खेल्न पाउनेछन्।

अहिलेसम्म इंग्ल्यान्डका ७ खेलाडीले एनपिएल खेल्न सम्झौता गरेका छन्। यस्तै, दक्षिण अफ्रिका र अस्ट्रेलियाका ५-५ खेलाडी एनपिएलका लागि आउने तय छ।

अमेरिकाबाट ४ जना खेलाडी नेपाल आउँदैछन्। ४ अमेरिकी खेलाडीमध्ये ३ जना भारतीय मूलका र १ जना श्रीलंकन मूलका खेलाडी छन्।

नामिबिया, स्कल्यान्ड र न्युजिल्यान्डका २-२ जना खेलाडीले यो सिजन एनपिएल खेल्दैछन्। पाकिस्तान, अफगानिस्तान, वेस्ट इन्डिज, इटाली, नेदरल्यान्ड्स, भारत र युगान्डाका १-१ खेलाडी पनि यो सिजन नेपाल आउनेछन्।

नेपाल आउन लागेका चर्चित खेलाडीमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिस (विराटनगर किंग्स), न्युजिल्यान्डका मार्टिन गप्टिल (विराटनगर किंग्स), दक्षिण अफ्रिकाका बलर इमरान ताहिर (जनकपुर बोल्ट्स), इंग्ल्यान्डका रवी बोपारा (चितवन राइनोज), अस्ट्रेलियाका ब्याटर क्रिन लिन (सुदूरपश्चिम रोयल्स) लगायत छन्। 

फ्रेञ्चाइज टोलीमा आबद्ध नेपाली खेलाडीको पारिश्रमिक २ लाखदेखि २२ लाख रूपैयाँसम्म छ। तर विदेशी खेलाडीको पारिश्रमिक भने न फ्रेञ्चाइज टोलीले सार्वजनिक गरेका छन् न क्यानले नै चासो देखाएको छ।

गत सिजन भारतका शिखर धवनले एकै  खेलको ४० लाख रूपैयाँमा सम्झौता गरेका थिए। उनले चार खेल खेलेका थिए। त्यतिबेला कर्णाली याक्सले उनको पारिश्रमिक सार्वजनिक  गर्दा क्यानले आपत्ति समेत जनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार