धरहरा मैले बनाएको भन्ने, गोली कसले चलायो थाहा छैन भन्न मिल्दैन : सुरेन्द्र पाण्डे

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ कार्तिक २०८२

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने बताएका छन् । बुधबार चितवनमा सरकञ्चार्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘भदौ २३ गते १९ जना मान्छे मार्नेगरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ ।’

उनले थपे, ‘धरहरा कसले बनाएको – मैले बनाएको, फलानो कसले बनाएको – मैले बनाएको भन्ने । गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन।’ उनले बंगलादेश लगायतमा चलेका आन्दोलनहरूमा पहिलो दिन नै यसरी मानवीय क्षति नभएको भन्दै तत्कालीन सरकारले पहिलो दिनको मानवीय क्षति किन रोक्न सकेन छानबिन गर्नुपर्ने बताए ।‘त्यसमा दोषी जो संलग्न छन्, प्रमाणित मानिसहरूलाई कारबाही गर्नुपर्छ,’ उनले भने ।

उपाध्यक्ष पाण्डेले भदौ २४ गतेको घटना पनि त्यत्तिकै अक्षम्य रहेको बताए । ‘सिंहदरबार जलाउन पाइन्छ? व्यक्तिका घर, अदालत जलाउन पाइन्छ, या अरू कुरा गर्न मिल्छ? मिल्दै मिल्दैन,’ उनले भने । ‘पार्टी कार्यालय जलाउने, अरूका सम्पत्ति तोडफोड, आगजनी र लुटपाट चोरी किन गर्ने? यदि कानुनी शासन भएन र जे पनि गर्न पाइन्छ भन्ने हो भने नेपालमा कोही बस्छ?’ उनले भने, ‘अनि देश रहन्छ, देश चल्छ ?’

नेता पाण्डेले जतिसुकै भए पनि अपराधीहरूलाई कारबाही गर्नुपर्ने बताए । उनले प्रश्न गरे, ‘डरै भएन भने के हुन्छ?’ उनले भदौ २३ र २४ को अन्तरसम्बन्ध रहेको भन्दै २३ नभएको भए २४ नहुने तर्क गरे । उनले गम्भीर अपराधमा संलग्नहरूलाई कारबाही नगरे दण्डहीनता बढ्ने बताए ।

‘संलग्न छन् भने एमालेमाथि पनि कारबाही गर्ने र हामीले त्यसमा समर्थन गर्ने कुरा हुनैपर्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार