बालेनको ‘नेपाल हाँसेको’देखि ‘गो हर्के गो’सम्म सामाजिक संजालमा देशभक्ति गीत निकै गुञ्जिए

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ अशोज २०८२

हरेक राजनीतिक आन्दोलनलाई उभार तुल्याउन गीतसंगीतको महत्वपूर्ण योगदान हुन्छ । जेनजी आन्दोलनमा पनि यस्तै देखियो । सामाजिक संजालको टाइमलाइनमा केही देशभक्ति गीत निकै गुञ्जिए । फेसबुक र इन्स्टाग्रामको रिल्स होस् या टिकटक प्लाटफर्म । ती गीतमाथि लाखौंले भिडियो बनाए अनि आन्दोलनमा ऐक्यबद्धता जनाए ।

जेनजी आन्दोलनमा सबैभन्दा धेरै गुञ्जिएको गीत बन्यो- बालेनद्वारा स्वरबद्ध ‘नेपाल हाँसेको ।’ यसवर्ष रिलिज भएको फिल्म ‘लाज शरणम्’मा समावेश यो गीतमाथि जेनजी र युवाले टिकटक र रिल्स बनाए । बालेनको अर्को हिपहप गीत ‘बलिदान’ पनि निकै रुचाइयो । यो गीत पनि जेनजी आन्दोलनको दौरान धेरै गुञ्जिएको र भिडियो बनेको गीतमध्ये पर्छ । जेनजी पुस्तामा रुचाइएका गायक समेत रहेका काठमाडौं महानगरका मेयर बालेनको उक्त गीत स्थानीय निकायको चुनावको बेला पनि निकै सेयर गरिएको थियो । ‘नेपथ्य’ ब्याण्डको एल्बममा समेटिएको गीत ‘रातो र चन्द्रसूर्य’ पनि एकाएक भाइरल बन्यो । ७ वर्षअघि ब्याण्डले ल्याएको यो गीतमाथि जेनजी आन्दोलनमा धेरै भिडियो बने ।

गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ लाई अम्बर गुरुङले संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए । नेपाली झण्डाको महिमा गाउने त्यो गीतलाई पछिल्लो समय नेपथ्यले नयाँ एरेन्जमेन्टका साथ गाउँदै आएको छ । यो गीतलाई नेपथ्यको एल्बम ‘मेरो देश’ मा पनि समेटिएको थियो । चर्चित फिल्म ‘बलिदान’मा समेटिएको गीत ‘गाउँ गाउँबाट बस्तीबाट उठ’ पञ्चायत यताका हरेक राजनीतिक आन्दोलनमा गुञ्जिने गरेको छ । रामेश र रायनद्धार स्वरबद्ध यो गीत यसपटक जेनजी आन्दोलनमा पनि निकै गुञ्जियो ।

दुई दशक पुरानो पपगीत ‘गो हर्के गो’ अहिलेको जेनजी आन्दोलनमा निकै भाइरल बन्यो । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई कटाक्ष गर्दै धेरै सामाजिक संजाल प्रयोगकर्ताले टिकटक र रिल्स बनाए । यीबाहेक अन्य देशभक्ति भावनाका गीतहरू ‘देशले रगत मागे मलाई बली चढाउनु’ पनि निकै चर्चामा रहे ।

प्रतिक्रिया

सम्बन्धित समाचार