रौतहटकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् । >
उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् । उनले हत्या अघि रुबी ब्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको पनि खुलाएका छन् । ‘मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,’ उनले भनेका छन् । गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुबी साहको शव भेटिएको थियो । माधव नारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी रुबी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् । स्कुलको बेलादेखि आफूहरुबीच सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको उनले बताएका छन् । तर आफू गरिब भएकाले पारिवारिक तनावमा परेकाले रुबीको हत्या गरेको बताएका छन् । लक्ष्मणको घर रुबीको माइत टोलमै छ । >
रुबी–लक्ष्मणबीच पहिले प्रेम सम्बन्ध थियो । रुबीको गौरकै एक घरमा हत्या गरेर एक रिक्सामा राखेर शव फाल्न लगाइएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवान आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान भेटिएका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अस्पताल पठाएको छ ।>>