यो साता सेयर बजार १.०३ प्रतिशत अर्थात् २८ अंक बढेको छ । गत साता २७०३ अंकमा रहेको बजार यो साता २७३१ अंकमा रहेर बन्द भयो । सातामा ५ दिन कारोबार हुँदा दुई दिन बजार घट्यो भने तीन दिन बढ्यो । >
पहिलो दिन आइतबार २.४० अंक बढेको बजार सोमबार २२.३५ अंक घट्यो । मंगलबार जम्मा ०.१४ अंक घट्यो । बुधबार फेरि २२.०४ र बिहीबार २५.८९ अंक बढ्यो । कारोबार रकम भने सामान्य छ । आइतबार ९ अर्ब ५० करोडको कारोबार भएको थियो । सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ६ अर्ब ५७ करोड, बुधबार ७ अर्ब ४५ करोड र बिहीबार ९ अर्ब ६८ करोडको भयो । असार मसान्त बैंकको साँवा तथा ब्याज भुक्तानीको समय भएकाले यो समय बजार घटाउन चाहनेले ठूलै ‘हाउगुजी’ देखाउँदै आएका थिए । तर यतिबेला भने सेयर बजार ४ महिना (फागुन २८) यताकै उच्च विन्दुमा छ । >
यो पटक असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको लय समातेको छ । शुक्रबार नै मौद्रिक नीति सार्वजनिक भएको छ । माैद्रिक नीति बजारअनुकूल देखिएकाले आगामी साता थप सकारात्मक प्रभाव पार्ने अनुमान छ ।>>